मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, फोरमबाट एक मन्त्री थपिने



१६ साउन २०७५, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।

यो खबर आजको नयाँ पत्रिकामा छ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ ।

‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर टुंगो लाग्ने गरी पार्टीभित्र छलफल हुनसकेको छैन ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छिट्टै टुंगो लगाउने पौडेलले बताए ।

फोरमबाट एक राज्यमन्त्री थपिने
संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री बन्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई अर्कै मन्त्रालयको जिम्मेवारी दिन लागिएपछि अब फोरमबाट राज्यमन्त्री थपिने भएको छ ।

फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।

फोरमबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सहकारी विकास मन्त्रीमा मोहमद इस्तियाक राई छन् । एक राज्यमन्त्रीका लागि तीनजना नेता दौडधुपमा लागेको फोरमका एक नेताले बताए ।

राज्यमन्त्रीका लागि प्रमिला यादव, डा. सुरेन्द्र यादव र प्रदीप यादव लबिङमा लागेका छन् । फोरममा मधेसी समुदायबाट मन्त्री भइसकेकाले जनजाति समुदायबाट राज्यमन्त्री बनाइनुपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्