फेरि विवादमा तानिए पर्यटन मन्त्री अधिकारी



१६ साउन २०७५, काठमाडौं

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिमा विवादमा तानिएका छन् । यस अघि उनी केही निर्णयका कारण विवादमा आएका थिए ।

बिहीबारको मन्त्रीपरिषद बैठकले कोषको उपाध्यक्षमा अवधेशप्रसाद त्रिपाठी र कार्यकारी निर्देशकमा विष्णुप्रसाद ढकालाई नियुक्त गरेको थियो ।

आजको दृष्टि साप्ताहिकले निजामती सेवामा भ्रष्ट कर्मचारीको रुपमा चिनिने पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका ढकाललाई नियुक्त गरेर मन्त्री अधिकारी विवादमा तानिएको समाचार लेखेको छ ।

ढकालको जागिर अवधि एक डेढ महिना मात्र वाँकी रहेको समाचारमा उल्लेख छ ।

दृष्टि साप्ताहिकको समाचारमा ललितपुरको स्थानीय विकास अधिकारी हुँदा ढकालले ढुंगा गिटी र क्रसरवालासँग मिलेर करोडौं भ्रष्टाचार गरेपछि धेरै विवादमा तानिएको पनि उल्लेख छ ।

यसैबीच, कोषको उपाध्यक्षमा नियुक्त भएका त्रिपाठीलाई यसअघि शेरबहादुर देउवा सरकारले पनि कोषमा उपाध्यक्ष बनाएको थियो ।

देउवाले नियुक्त गरेका त्रिपाठी नेकपाका लागि पनि फिट भएका र यसमा आर्थिक लेनदेन भएको दृृृष्टि साप्ताहिकको समाचारमा छ ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिमा खराव मात्र चयन गरेर मन्त्री अधिकारी विवादमा आएको दृष्टिले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्