डोल्पामा डराए, बामदेवको चाहना प्यूठान !



१६ साउन २०७५, काठमाडौं

नेकपाका सचिवालय सदस्य बामदेव गौतम डोल्पाबाट नभई प्युठानबाट चुनाव लड्न चाहेको आजको दृष्टिसाप्ताहिकले समाचार छापेको छ ।

हाल पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाएर गौतम त्यहाँबाट चुनाव लड्ने चर्चा भैरहेको बेला दृष्टि साप्ताहिकले ‘बामदेवको चाहना प्यूठान’ शीर्षकमा समाचार छापेको छ ।

नेता गौतम डोल्पामा चुनाव जितिनेमा भने ढुक्क नरहेको भन्दै दृष्टिले स्रोतलाई उद्धृत गर्दै आफ्नो पुरानो चुनावी क्षेत्र प्युठानबाटै चुनाव लड्न चाहेको उल्लेख गरेको छ ।

त्यसका लागि वाम गठबन्धनकी उम्मेदवारकी रुपमा प्युठानबाट चुनाव जितेकी दुर्गा पौडेललाई राजिनामा दिन लगाउने प्रयास समेत भइरहेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइए अनुसार डेढ बर्षपछि राष्ट्रियसभाको निर्वाचनमार्फत पौडेललाई राष्ट्रियसभामा ल्याउने र उनलाई मन्त्री बनाउने आश्वासन दिएर राजिनामा गराउने प्रयास समेत भइरहेको छ । तर, पौडेलले निर्णय दिइनसकेकी समाचारमा बताइएको छ ।

गौतमलाई शक्तिशाली प्राधिकरण बनाएर त्यसको उपाध्यक्ष नियुक्ति गर्ने तयारी समेत प्रधानमन्त्री कार्यालयले गरेको तर, त्यो प्रस्ताव पनि रोकिएपछि गौतमलाई सांसद बनाउने प्रयास अघि बढेको दृष्टि साप्ताहिमा समाचार छ ।

केही दिन अगाडि मात्र एक दैनिक पत्रिकामा बामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी भएको समाचार छापिएको थियो ।

प्रतिक्रिया दिनुहोस्