सय घण्टासम्म लगातार भाषण गरेर विश्व कीर्तिमान कायम गर्ने तयारीमा अनन्तराम



१३ साउन २०७५, काठमाडौं

अनन्तराम केसी सबैभन्दा लामो समय भाषण गरेर नयाँ विश्व कीर्तिमान कायम गर्ने तयारीमा जुटेका छन् । न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने उनको तयारी छ ।केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ ।

केसी अभियानको सहयोगार्थ शनिबार  राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उनको तयारीलाई मूर्त रुप दिन  आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले अग्रीम शुभकामना दिँदै उनको अभियानलाई राजनीतिक आग्रह–पूर्वाग्रहले हेर्न नहुने बताए ।

त्यस्तै प्रदेश सभासद् जीवन डंगोलले केसीको अभियानलाई सिंगो राज्यले नै सहयोग गर्नु पर्ने धारणा राख्दै व्यक्तिगत तर्फबाट आर्थिक सहयोगको घोषणा समेत गरे ।

पूर्व सभासद् तथा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले उनको अभियानका लागि नेपाली कांग्रेस नुवाकोटको तर्फबाट ५१ हजार १ सय ५१ रुपैया सहयोगको घोषणा गरे ।

आर्थिक सहयोग संकलन समितिका संयोजक रविन थपलियाको संयोजकत्वमा भएको कार्यक्रममा अन्य विविध पेशा तथा व्यवसायमा आबद्धहरुले पनि आर्थिक सहयोगको घोषणा गरेका थिए ।

केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी कीर्तिमान बनाएका भए पनि प्राविधिक त्रुटीका कारण त्यसलाई प्रमाणिकरण गरिएको थिएन । हाल भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्