बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार-२’ को ट्रेलर सार्वजनिक (भिडियो)



१२ साउन २०७५, काठमाडौं

बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, रेम बिक, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकार देखिएका छन् ।

समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार–२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढीकरणमा जोड दिएको बताइएको छ ।

साउन १२ गते अर्थात  आजदेखि   नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको छ । टेलिश्रृंखला अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको हो ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टीमले टेलिश्रृंखलाको ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै निर्देशक नवीन सुब्बाले नेपाली कलाकारहरुको अभिनय क्षमता अब्बल रहेको प्रशंशा गर्दै त्यसलाई सदुपयोग गरेको बताए ।

यस्तै कार्यक्रममा अभिनेत्री गौरी मल्लले पहिलो सिजनको भन्दा यो सिजनमा आशा सिंहको राजनीतिक करिअरको साथमा पारिवारिक, सामाजिक, आर्थिक र उसको स्वास्थ्य लगायका कुराहरुमा आएको उतारचढावलाई हेर्न सकिने बताईन् ।

 

प्रतिक्रिया दिनुहोस्