पाहुना चराले बसाइ लम्ब्याए !



०७ साउन २०७५, काठमाडौं

मुलुकका विभिन्न सिमसार र जलाधारमा चरिचरणका लागि भित्रिने हिउँद यामका पाहुना चराले नेपाल बसाइ अवधि लम्ब्याउन थालेका छन् । मनसुनअगावै फर्कनुपर्ने जलपन्छी मध्य वर्षात्मा पनि यतै भेटिन थालेका छन् ।

खडखडे हाँस (गडवाल) को एउटा समूह कपिलवस्तुको जगदीशपुर तालमा भेटिएपछि सो पन्छीले नेपालमा बसाइ अवधि लब्याउनुको कारण पहिचान गर्न पन्छीविद्हरुले चासो लिएका छन् । पन्छीविद् डा. हेमसागर बरालसहितको टोलीले जगदीशपुरमा मध्यअसारको समयमा करिब १ दर्जनको संख्यामा खडखडे हाँस भेटेको हो ।

‘जेठ दोस्रो हप्ताअघि नै फर्कनुपर्ने खडखडे हाँसको समूह धेरैपछि पनि भेटियो’, डा. बरालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसले आगन्तुक पन्छीबारेको अध्ययन अनुसन्धानको दायरा बढाएको छ ।’ हिउँदे आगन्तुक जलपन्छी वर्षाको अन्त्यसँगै नेपालका सिमसार, जलाधार र तालतलैयामा भित्रिने गर्छन् । खड्खडे हाँससहित जलपन्छीको ठूलो संख्या चीन, मंगोलिया र रुसको दक्षिणी भू–भागबाट नेपाल भित्रिने गर्छन् ।,आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्