सार्वजनिक यातायातमा हुने दुर्व्यबहार मानिस र समाजलाई पढ्ने माध्यम : ‘नाई’ जुनु चौधरी



३२ असार २०७५, तुलसीपुर

साजसज्जा सहित ठाँटिएर हिड्ने उमेरमा कसैको कपाल त कसैको दाह्री काट्ने दैनिकी बनेको छ २१ वर्षीया जुनु चौधरीको । उनको उमेरका युवायुवती कामभन्दा मोजमस्ती र मनोरञ्जनमा समय बिताइरहेका छन् भने कतिपय अभिभावकको पसिना मोजमस्तीमै उडाइरहेका होलान् ।

गरिबीको कारण आफ्नौ औपचारिक शिक्षा पुरा गर्न नसकेकी जुनुले एफएनसी संस्थाले जुराईदिएको चार महिने कपाल काट्ने तालिम लिईन् । त्यसैबेला सिकेको सीपलाई आज जुनुले जीवनयापनको एउटा माध्यम बनाएकी छन् । उनले दाङमा आएर व्यवसायिक रूपमा कपाल काट्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । पहिले उनले घोराही मै कपाल काट्थिन् ।

१६ वर्षको उमेरदेखि नै कपाल काट्न थालेकी जुनुलाई कुरा गर्न समेत फुर्सद हुदैन । पसल बाहिर ग्राहकको लाइन हुन्छन् । उनी तुलसीपुर क्षेत्रमा कपाल काट्ने एक्ली किशोरी नाई हुन् ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ फत्तेपुर निवासी जुनु चौधरी हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा बस्छिन् ।

जुनु दिनहुँ सार्वजनिक बसको यात्रा गरी नारायणपुरबाट तुलसीपुर आउने गर्छिन् । एउटी किशोरी एक्लै यात्रा गर्दा अरुले जस्तै सार्वजनिक सवारीमा उनले पनि अनेक खालका व्यवहार खेप्नुपर्छ । तर उनी यसले गर्दा मानिस र समाजलाई पढ्न मद्दत पुगेको तर्क गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्