सुन तस्करी ‘गोरे’लाई पनि चाहियो सेनाको सुरक्षा !



३२ असार २०७५, काठमाडौं

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।

प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ ।

‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ ।

कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग-यो ।

उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

डिप्रेसनमा गोरे
काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।

जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्