यस्तो भयो श्रीमती बोक्ने प्रतियोगिता (भिडियो सहित)



फिनल्याण्डको सोन्काजार्भी शहरमा शनिबार श्रीमती बोकेर दौडिने प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा ५३ जना पुरुषहरु आफ्नी श्रीमतीलाई बोकेर एकघण्टा दौडिए र उक्त दृष्यलाई हेर्दै हजारौँ दर्शकहरुले मज्जा लिए ।

वल्र्ड वाइफ क्यारिङ्ग च्याम्पियनसीपअन्तर्गत योपटक भएको प्रतियोगिता २३ औँ हो । हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ । ४२ सय जनसंख्या भएको उक्त शहरमा हुने श्रीमती बोक्ने प्रतियोगिता हेर्न विश्वभरका हजारौँ मानिसहरु आउने गरेका छन् । अमेरिका, बेलायत, स्विडेन, इस्टोनियालगायतका विभिन्न १३ देशबाट छनोट चरण पार गरेका ५३ जोडीहरु फाइनल चरणको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

अन्य ५२ प्रतिस्पर्धीलाई पछि पार्दै लिथुआनियाका भिटाउटास किकलयाउस्कासले यो वर्षको स्वास्नी बोक्ने प्रतियोगिताको उपाधि जिते । दुई सन्तानका पिता भिटाउटासले पत्नी नेरिंगा किर्कलियाउस्केनीलाई बोकेर सबैभन्दा छिटो दौड पूरा गरे । ६ पटकका विश्व विजेता टाइस्टो मेटिनेनले दोश्रो स्थानमा चित्त बुझाए । श्रीमती बोकेर दौडिने बाटो सजिलो थिएन । जसमा सिधा बाटोमा दौडिने देखि हिलो र चिप्लोमा घस्रिने सम्म गर्नुपथ्र्यो ।

यो जोडीले सन् २००५ देखि निरन्तर यो प्रतियोगितामा भाग लिँदै आएको थियो । वर्षमा लामो तथा अँध्यारो जाडोयाम गुजार्नुपर्ने फिनल्याण्डमा गृष्मयाममा अनेक खालका अनौठा खेलहरु आयोजना गरी मानिसहरुले मज्जा लिने गर्दछन् । फिनल्याण्डमा जुत्ता फ्याँक्ने प्रतियोगिता, एयर गिटार तथा मोबाइल फोन फ्याँक्ने लगायतका प्रतियोगिता पनि हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्