दुर्गमका बालबालिकालाई सुगम शिक्षा दिदै २७ वर्षीय सूर्य कार्की



२९ असार २०७५, काठमाडौं

झट्ट सुन्दा अचम्म लाग्न सक्छ २५ लाख लागतमा ७ कोठे एकतले पक्की विद्यालय भवन त्यो पनि ३४ दिनमा तयार गर्न सकिन्छ भनेर । तर, यो सम्भव भइरहेको छ संखुवासभा र गुल्मीका दुरदराज वस्तीहरुमा । यसको नेतृत्व गरिरहेका छन् संखुवासभामा जन्मिएर देश तथा विदेशमा शैक्षिक अनुभव संगालेका २७ वर्षीय सूर्य कार्कीले ।

विदेशमा शिक्षा लिएर नेपालमा त्यसको उपयोग गर्ने वाचा गरेका थुप्रै युवाहरु उतै बसेको उदाहरण हामी माझ नौलो छैन् । त्यसको ठिक विपरित विदेशका विभिन्न स्थानमा अध्ययनको अवसर पाएका सूर्यलाई भने नेपालमै केही गर्ने इच्छा जाग्यो ।

संखुवासभाको मानेखर्क हालको मादी नगरपालिकामा जन्मिएका सूर्य कार्कीले साढे दुई घण्टाको पैदल मार्फत छत्रेश्वरी प्राविमा कक्षा ३ सम्मको अध्ययन गरे । ९ वर्षको उमेरमा काठमाण्डौ झरेका सूर्यले वुढानिलकण्ठबाट विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरेका हुन्  ।

विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरेका सूर्यलाई कृषी बिषयमा अध्ययन गर्ने रुची थिएन् । तथापी देश भ्रमण गर्न र अवसरको सदुपयोग गर्दै उनी ३ बर्षे छात्रवृत्तिमा युनाइटेड वर्ल्ड कलेजमा  कृषि व्यवस्थापन अध्ययनका लागि भेनेजुयलातर्फ लागे ।

१८० वटा देशबाट छानिएका विद्यार्थीहरु अध्ययनका लागि  जाने उक्त कलेजको छात्रावृत्तिको प्रबन्ध भने हिमालय शमशेरले गरेका थिए । युनाइटेड वर्ल्ड कलेजमा अध्ययन गरेपछि उनलाई कृषि अर्थतन्त्र पढ्नुपर्ने रहेछ भन्ने बोध भयो ।

भेनेजुयलाबाट अध्ययन गरेर नेपाल फर्केका सूर्यसामु अमेरिकाबाट फर्केका उनका साथीहरुले प्राइभेट फ्रि स्कुल सञ्चालनको अवधारणा अघि सारे । तत्पश्चात कृषि र शिक्षालाई संयोजन गरेर फ्री स्कुल तनहुँमा सञ्चालनमा ल्याए । फ्रि स्कुलमा अभिभावकले महिनाको दुई पटक कृषी फार्ममा काम गर्ने र छोराछोरीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवधारणा कार्कीले ल्याए ।

त्यसलगत्तै उनी अर्थतन्त्र अध्ययनका लागि सन् २०१२ मा अमेरिकामा रहेको कलेज अफ दि एटलान्टिकमा गए । बर्षको ६० हजार डलर लाग्ने ४ वर्षे कोर्षको छात्रवृत्तिको व्यवस्था सेल्भी डेविजले गरेका थिए ।

नेपालको अर्थतन्त्र विकासका लागि कृषक, मध्यस्तकर्ता, प्रयोगकर्ता शिक्षित हुन आवश्यक रहेको सूर्य बताउँछन् । उनी भन्छन्, ‘सबै शिक्षित भएमा मात्र देश विकास सम्भव छ ।’

सन् २०१४ को अन्त्यतिर  युनाइटेड वर्ल्ड स्कुलस् नेपाल नामक  संस्थाको स्थापना गर्ने अवधारणा  अघि बढ्यो । जसको कार्यालय संखुवासभाको तुम्लिङटारमा रहेको छ भने शााखा कार्यालय गुल्मीमा रहेको छ ।

उनी भन्छन् अर्थतन्त्र र कृषीको मेल भएमा मात्र शिक्षाको विकास सम्भव छ भन्ने उद्देश्य लिएर युनाइटेड वर्ल्ड स्कुलस्को स्थापना गरिएको हो । सरकारले जुन हिसाबले शिक्षा दिइरहेको छ त्यो १९ औँ शताब्दिको जस्तो देखिन्छ गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने हाम्रो उद्देश्य रह्यो । नेपालको शिक्षा प्रविधिमूखी र प्रविधीमूलक नभएको उनको तर्क रहेको छ ।

नेपालको अर्थतन्त्र विकासका लागि कृषक, मध्यस्तकर्ता, प्रयोगकर्ता शिक्षित हुन आवश्यक रहेको सूर्य बताउँछन् । उनी भन्छन्, ‘सबै शिक्षित भएमा मात्र देश विकास सम्भव छ ।’

जगबाट नै बलियो नबनाए माथिल्लो स्तरमा गुणस्तरीय शिक्षा दिन सकिदैन भन्ने सोच राखेर युनाइटेड वर्ल्ड स्कुलस् नेपालकोे स्थापना भयो । उक्त संस्थाले सरकार, समुदायको सहकार्यमा २०१६ बाट सामुदायिक विद्यालय निर्माण गर्दै आएको छ । जसमा सरकार र  समुदायको सिमित लगानी रहेको छ ।

संस्थाले हालसम्म संखुवासभामा २१ र गुल्मीमा ५ वटा विद्यालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । समुदायको मागमा नयाँ विद्यालय पनि निर्माण भएका छन् भने पुरानै विद्यालयलाई नयाँ बनाइएको छ ।

३० प्रतिशत समुदायको लागतमा अन्य दातृ निकायको सहयोग जुटाएर ५,६,७,८,९ कोठाको एक तले भूकम्परहित २५ लाखमा पक्की भवन बनिरहेका छन् ।

स्थानीय सरकारको सहकार्यमा बालमैत्री फर्निचर निर्माण गरेर रंगीन कक्षाकोठा बनिरहेका छन् । अंग्रेजी माध्यममा अध्ययन गराइने प्राथामिक तहको विद्यालयमा संस्थाले शैक्षिक र नेतृत्व विकास, शैक्षिक वातावरण निर्माणका निमित्त तालिम प्राप्त एक जना फेलोलाई एक विद्यालयमा खटाएको छ ।

सन् २०१६ को जुलाईमा १ वर्षे मास्टर्स अध्ययनका लागि चीनको चीङ गुवा तर्फ गए । जसमा स्वारजमेन स्कलर्स नामक छात्रवृत्तिमा अध्ययन गर्नका लागि विश्भरबाट ८ हजार देखि १२ हजार जनाले आवेदन दिने गर्दछन् । विश्वका १०० जना उद्योगी, नेता लगायतले अध्ययन गर्न पाउने उक्त छात्रवृत्तिमा नेपालबाट अध्ययनका लागि जाने हालसम्मका भाग्यमानी एक मात्र व्यक्ति बनेका छन् सूर्य ।

चीनको बसाइको क्रममा सूर्यले देश विकासका लागि शिक्षित नेतृत्व र सरकारको लगानी आवश्यक पर्ने महशुस गरे । उनी भन्छन्, चाइनाको विकासमा महत्वपूर्ण भूमिका शिक्षित नेतृत्व र सरकारको लागानीको महत्वपूर्ण भूमिका रहेको छ । चीनले ठूलो मात्रामा उद्योग धन्दामा लगानी गरेको उनको बुझाई छ ।

दुरदराजमा विद्यालय निर्माण द्रुत गतिमा लागिरहेका सूर्यलाई विदेशबाट उतै बस्ने थुप्रै अवसर आए तथापी उनलाई नेपालकै माटोमा बसेर केही गर्ने विचार पलायो ।

कृषकलाई रोजगारी दिने कारखाना खोल्ने सोचमा रहेका सूर्यले अलैँची उत्पादन गर्दै आएका छन् भने कफी उत्पादन र कागती खेती गर्ने सोचमा छन् ।

उनी भन्छन् नवलपरासीमा तीनजनाको  सहकार्यमा  ५, ६ महिनामा एउटा कृषी कारकाखाना बन्दैछ । हाल २,३ सय जनालाई रोजगारी दिने तयारी भए पनि सन् २०२५ सम्ममा दैनिक ५ हजार जनालाई दैनिक रोजगारी उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।

सूर्यको नेपालमा रहेका माकालु एड्भेन्चर, डेलिस डेरिज तथा अमेरिकामा समर टाइम फटेजमा  लागानी रहेको छ ।

उनका जीवनमा थुप्रै उतारचढाव आए तर पनि उनी त्यसबाट टाढा कहिल्यै भागेनन् । उनलाई अमेरिकाबाट ठूलै कामका लागि अनुरोध भएको थियो तर उनले त्यो रकम नेपालमा नै कमाउने निर्णय गरेर स्वदेश फर्किए ।

२३ वर्षको उमेरमा शैक्षिक परिवर्तनका लागि विद्यालय निर्माण गर्ने संस्था खोल्छु भन्दै सरकारी कार्यालय पुग्दा उनी हाँसोको पात्र बने ।

केही व्यक्तिहरुको सहयोग पछि संस्था दर्ता भयो अनि सुरु भयो शैक्षिक विकासको संकल्प पूरा गर्ने दिनको । दरखास्त नखुलाई सिधै २५ लाखमा पहिलो विद्यालय स्वरुप मोडन मकालु सामुदायिक प्रतिष्ठानको निर्माण भयो ।

२०२५ सम्ममा १५० वटा विद्यालय निर्माण गरेर हस्तान्तरण गर्ने संकल्प लिएको संस्थामा ११० जना लागिपरेका छन् । संस्थापक अध्यक्ष तथा राष्ट्रिय निर्देशक रहेका सुयर्को एक समयमा  सस्ंथाबाट १५ हजार  उत्पादन गर्न सकियो भने देशको कृषी तथा अर्थतन्त्रमा परिवर्तन हुने  विश्वास रहेको छ ।

८ कक्षासम्म अध्यापन हुने विद्यालयहरुमा सरकारकै पाठ्यक्रम पढाई भएपनि शैली भने फरक रहेको उनी बताउँछन् ।

कमजोर आर्थिक स्थिती  भएको परिवारमा जन्मिएका सूर्यले गरिवीको पीडा नजिकबाट नियालेका छन् । उनी आफ्नो आमाप्रति सम्मान गर्दै भन्छन्, ‘अशिक्षित मेरी आमाले शिक्षाले मात्र परिवर्तन हुन्छ भन्दै बहिनी र मलाई पढाउनुभयो त्यो निकै ठूलो कुरा हो ।’

आमाले घिच्याएर साढे दुइ घण्टाको बाटो मार्फत विद्यालय पुर्याएपनि उनी भने झ्यालबाट भागरे वाख्रा चराउन पुग्थे त कहिले साथीसँग गुच्चा खेल्न ।

उनी भन्छन्, ‘शिक्षाले गर्दा सपना देख्न सिके, अरु भन्दा फरक बन्न सिकेँ, समस्यासँग जुध्न पनि शिक्षाबाट सिकेँ ।’

आफ्नो कर्मबाट अविचलित रहेका सूर्यले सन् २०१४ मा  बेलायतका राजकुमार प्रिन्स चाल्सको हातबाट विश्वका प्रभावशााली उद्यमीको पुरस्कार हात पारेका छन् । जसमा विश्वभराका सात जना पुरस्कृत भएका थिए ।

इन्टरनेशनल युथ फाउण्डेशनले हरेक बर्ष विश्का २० जना युवालाई पुरस्कृत गर्ने गर्दछ सन् २०१५ मा पेरुमा उनी उक्त सम्मानबाट सम्मानित भएका छन् ।

त्यस्तै विश्वको चर्चित पत्रिका फोब्र्सले २०१७ मा ३० वर्ष मूनिका प्रभावशाली युवाको सूचीमा सूर्यको नाम प्रकाशित गरेको छ । जुन सुचीमा नेपालबाट ५ जनाको नाम परेको थियो ।

कामको व्यस्तताले गर्दा वैवाहिक जीवनको बिषय पछाडी सारेका सूर्य युवालाई एउटा बिषयमा दक्षता हासिल गर्न अनेुरोध गर्दछन् । कामको सम्मान र गर्ने वातावरण भए देशमा नै बसरे युवाले परिश्रम गर्नेछन्, उनी भन्छन् ।

यूवालाई भावी पुस्ता होइन अहिलेको जिम्मेवारी बोध गर्ने ब्यक्तिको रुपमा बुझ्न उनको आग्रह छ । सूर्य कार्की जस्ता लगनशील  युवाले देशको बारेमा सोचे देश विकासका लागि लामो समय कुर्नुनपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्