
०५ असार २०७५, काठमाडौं
बिहीबारदेखि विश्वकप फुटबलको महासंग्राम सुरु भएको छ । यसको रौनक भने विश्वभर नै देखिन्छ । विश्वकप फुटबलको फिभरले विदेशीलाइ मात्र होइन यसले नेपालीहरूलाई पनि राम्रैसँग तताएको छ । विश्वकपमा नेपालको टिम सहभागी नभएता पनि फुटबल प्रशंसकहरू आफूलाई मन पर्ने देशको टिमको समर्थन र विपक्षमा भने राम्रैसँग लागि परेका छन् ।
सामाजिक सञ्जालमा आ–आफ्नो टिमको समर्थन र अरू टिमको विपक्षमा उत्रिएका नेपालीहरूको आक्रोसलाई राम्रोसँग नियाल्न सकिन्छ । नेपाली कलाकारहरूलाई पनि विश्वकपले राम्रैसँग छोएको छ । उनीहरू विश्वकपलाई लिएर निकै उत्साहित छन् । कतिपय कलाकारले आफूले समर्थन गरेको टिमको जर्सी लगाएर फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा तस्बिर अपलोड गरिरहेका छन् । आ–आफ्नो विचार सार्वजनिक गरिरहेका छन् ।
राजेश हमाललाई मन पर्ने खेल हो- फुटबल । उनी फुटबल खेल मन पराए पनि कुन टिमलाई समर्थन गर्ने भन्ने विषयमा भने अझै पक्का भैसकेका छैनन् । उनी विश्वकप खेल हेर्न भने छुटाउदैनन् । क्वाटरफाइनलका खेल सुरु भएसँगै उनले आफ्नो टिम र खेलाडी छान्नेछन् । उनी एक्लै बसेर खेल हेर्न मनपराउछन् ।
नेपालका युवा स्टार अनमोल केसीलाई मन पर्ने खेल फुटबल हो । उनी सानै देखि बार्सिलोना र मेसीको फ्यान भएको बताउछन् । यो पटकको विश्वकपमा उनले अर्जेन्टिनालाई सपोट गरेका छन् र जित्ने विश्वस्त पनि छन् ।
अभिनेत्री केकी अधिकारीलाई मनपर्ने खेलाडी हुन् मेसी । उनले सानैदेखि अर्जेन्टिनाको खेल मनपर्छ । उनी भन्छिन्, मलाई आशा छ यसपटकको विश्वकपमा मेसीको टिमले जित्ने छ, । मेस्सीको जादुमय खेलले आफूलाई प्रभावित तुल्याउने बताउँछिन् ।
अभिनेत्री झरना थापालाई सबैभन्दा मन पर्ने खेल हो फुटबल । झरना साथीभाइ तथा परिवारका साथ फुटबल म्याच हेर्दै आएको बताउँछिन् । यसपटकको विश्वकपले राम्रैसँग छोए पनि झरनाले आफ्नो टिम भने रोजिसकेकी छैनन् । यद्यपि उनलाई अर्जेन्टिना र जर्मनी अलि बढी मनपर्ने टिम हुन् ।
अभिनेत्री श्वेता खड्का फुटबलको सौखिन छिन् । उनले विश्वकपका कुनै पनि खेल हेर्न छुटाउने छैनन् । श्वेताले लामो समयदेखि विश्वकपको फाइनलमा बाजी समेत थाप्दै आएकी छिन् । खड्का भन्छिन्, अहिलेसम्म मैले बाजी हारेको थाहा छैन । जस्तोसुकै व्यस्तताका बाबजुद विश्वकप फुटबल हेरेरै छाड्ने श्वेता बताउँछिन् । उनको मन पर्ने टिम अर्जेन्टिना हो भने मेसी र रोनाल्डो मन पर्ने खेलाडी हुन् ।
प्रमोद खरेल पनि फुटबल मनपराउने कलाकारमा पर्छन् । उनको दिनभरि रेकर्डिङमा व्यस्त भए पनि बेलुका भने फुटबलमै रमाउने सेडुअल छ । प्रमोद यसपालि अर्जेन्टिनाको सपोर्टमा छन् । मेसी उनलाई मन पर्ने खेलाडी हुन् । खरेल विश्वपकप कसले जित्ला भन्ने कुराको ठ्याक्कै अनुमान लगाउन सक्दैनन् । उनी भन्छन्, यसपटकको खेलमा जर्मनी खतरनाक सावित हुनसक्छ । स्पेन एकदमै लयमा खेल्ने टिम हो । ब्राजिलसँग राम्रो टिम छ । फ्रान्स पनि राम्रो टिम हो, यसले पनि झुक्याउन बेर लगाउदैन ।
अभिनेत्री अश्लेषा ठकुरीलाई पनि विश्वकपले राम्रैसँग छोएको छ । लिगमा खासै मतलब नभए पनि विश्वकपमा भने पहिल्यैदेखि चासो दिने ठकुरी बताउँछिन् । अश्लेषा उनी भन्छिन्, म जर्मनीको पक्षमा छु । जर्मनीको अनुशासित खेल तथा खेलप्रतिको लगाव मलाई विशेष मन पर्छ । उनले आफ्नो फेसबुकको प्रोफाइल र कभर तस्बिरमा समेत जर्मनीको जर्सी लगाएको तस्बिर राखेकी छिन् ।
गायक कृष्ण काफ्लेलाई मन पर्ने खेलमध्ये फुटबल पहिलो हो । विश्वभरिका देशको प्रतिस्पर्धा हुने विश्वकप हेर्न विशेष समय छुट्याउ छु । यसपटक अर्जेन्टिनालाई समर्थन गर्दै विश्वकप हेर्नेछु ।’ गायक काफ्ले विश्वकप कसले जित्छ भन्ने विषयमा भने कुनै दाबी गर्न गाह्रो हुने बताउँछन् ।
गायक यम बराललाई मन पर्ने खेल फुटबल नै हो । विश्वकपले छोएको एक महिनाभन्दा बढी भैसकेको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका बराल एकहप्ता अघि मात्र नेपाल फर्किएका हुन् । यो वर्षको विश्वकप हेरेरै बिताउने योजनामा छु, । मेसीको अन्तिम विश्वकप भएर पनि उनी यसपटक अर्जेन्टिनालाई सपोट गर्छन् ।
दीपकराज गिरी विश्वकप हेर्र्न कहिले छुटाउदैनन् । उनी १९९० देखि अर्जेन्टिनाको समर्थक हुन् । सानैदेखि अर्जेन्टिनाको समर्थक भएकाले उनी अर्जेन्टिनासँग अटुट सम्बन्ध रहेको बताउँछन् । पहिल्यैदेखि अर्जेन्टिनाको जर्सी सुरक्षित राखेको उनले बताए । विगतमा फेसबुक, टिव्टर, इन्स्टा आदि सामाजिक सञ्जालमा खुलेर आफ्नो टिमको प्रचार गरिन्थ्यो, गिरीले भने– आजभोलि चलचित्रमा अलि बढी व्यस्त छु, त्यसैले एउटाको पक्षमा लेख्दा अर्को टिमका समर्थकको चित्त दुख्छ भनेर मैले यो काम बन्द गरिदिए ।
अभिनेत्री बेनिशा हमाल यसपटकको विश्वकपमा ब्राजिललाई सपोट गर्छिन् । फुटबल जानेदेखिनै म ब्राजिलको समर्थक हुँ, हमालले भनिन् सानो छँदा बुवा ब्राजिलको सपोर्टमा हुनुहुन्थ्यो, ममा पनि उहाँको प्रभाव पर्याे । ब्राजीलले यो भन्दा अघिको विश्वकपको हार निकै ठूलो थियो । त्यो विश्वकपले ब्राजिललाई केही पाठ सिकाएको छ, त्यसैले ब्राजिल अहिले थप बलियो भएर आएको छ ।
गायक चेतन सापकोटा विश्वकप सुरु हुनुभन्दा दुई महिनाअघिदेखि नै एक्साइटेड भएको बताउँछन् । नयाँबस्ती, जोरपाटीमा ठूलो प्रोजेक्टर राखेर विश्वकप हेर्ने सोच रहेकोछ उनको । चेतन अर्जेन्टिनाले जित्नमा आशावादी छन् । मेसी, मार्कोस, निकोलस जस्ता उत्कृष्ट खेलाडी भएकाले अर्जे्न्टिनाले जित्ने कुरामा उनी ढुक्क छन् ।
अभिनेत्री सञ्चिता लुइँटेल फुटबलमा सानैदेखि क्रेजी भएकाले विश्ककप हेर्न कहिल्यै नछुटाउने बताउँछिन । यसपटकको विश्ककप आफ्नो घरमा नजिकका साथीभाइहरू जम्मा पारेर हेर्ने सोच छ । आई लभ ब्राजिल, लुइँटेलले भन्छिन्– किनभने ब्राजिलको टिमवर्क राम्रो छ, यसपटकको विश्वकप ब्राजिलले नै जित्छ । यसपटक परिवारमा सबैले ब्राजिलको जर्सी लगाएर खेल हेर्ने सञ्चिताले बताइन् । मेरो परिवारमा बुवा अर्जे्न्टिनाको फ्यान हुनुहुन्छ, उहाँबाहेक बाँकी सबै ब्राजिलका समर्थक हौं ।
लोक गायक खुमन अधिकारी केही समय अघि मात्र रुस पुगेर आएका छन् । उनी यसपटक ब्राजिलको समर्थनमा छन् । मलाई यो टिम पहिल्यैदेखि मन पर्छ, यसपटक ब्राजिलले नै खेल जित्ने आशा छ । यो टिममा नेयमार र सिल्भा पावरफुल खेलाडी त हुन् तर खेलको रणनीतिसमेत राम्रो भएकाले ब्राजिलले जित्ने अधिकारीको दाबी छ ।





