
२८ जेठ २०७५, काठमाडौँ
नेपाली चलचित्रको व्यापार पहिलोको तुलनामा राम्रो भएता पनि समग्रलाई हेर्दा यसको अझ धेरै विकास हुन बाँकि देखिन्छ ।
बर्षको सुरुवाती बैशाख र जेठ महिनामा १३ वटा चलचित्र रिलिज भएका छन् । तर, कुनै पनि चलचित्रले नेपालबाट लगानी उठाउन सकेनन् ।
बैशाख ७ गते ‘स्वर्ग मेरो गाउँ’, वैशाख १४ गते ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’, वैशाख २१ गते ‘डमरुको डन्डिबियो’ र वैशाख २८ गते ‘लम्फू’ र ‘हिरोज’ रिलिज भएका थिए । यी ६ चलचित्रको व्यापारको अवस्था हेर्दा ५ करोडभन्दा बढी लगानी डुबेको छ ।
हुनत, अहिले केही निर्माताले नेपालबाट लगानी उठाउन नसके पनि ओभरसिज र डिजिटल राइट्सबाट आफूलाई सुरक्षित राखेका छन् । तर, नेपालको बक्स अफिसमा वैशाखमा रिलिज भएका सबै चलचित्र असफल भए । ‘कोहलपुर एक्सप्रेस’ले १ करोड क्रस कलेक्सन गरे पनि नेपालबाट लगानी उठाउन चुक्यो ।
जेठको अवस्था झनै दयनीय छ । जेठ ४ गते ‘हैरान’, जेठ ११ गते ‘सुनकेशरी’, जेठ १८ गते ‘अमेरिका बोइज’, ‘बेबी आइ लभ यू’ र ‘हरी’ रिलिज भए । यी ३ वटै चलचित्र पूर्णरुपमा असफल भए । ‘हरी’ र ‘बेबी आइ लभ यू’को अवस्था नाजुक रह्यो भने ‘अमेरिका बोइज’ पनि आशातित चलेन । जेठ ११ मा रिलिज भएको नायिका ऋचा शर्माको चलचित्र ‘सुनकेशरी’ युनिटले पनि १ करोड ग्रस गरेको भन्दै केक काट्यो । तर यो सत्य नभएको बुझिन्छ ।
जेठको २५ गतेबाट रिलिज भएको कलाकार बुद्दि तामाङ अभिनित चलचित्रहरु ‘मट्टमिाला’ र ‘चंगा’ दुबै असफल भइसकेका छन् । यी दुई चलचित्रको असफलतासँगै जेठ महिना पनि हिट चलचित्र बिहिन बन्यो । ७ वटा चलचित्रको औषत लगानी ५ करोड रहेको अनुमान लगाउन सकिन्छ । यसरी हेर्दा २ महिनामै १० करोड लगानी बालुवामा पानीसरह भएको छ ।





