राजधानीवासीको स्वास्थ्यप्रति सरकारको लापरवाही (भिडियो सहित)



१४ जेठ २०७५, काठमाडौँ

देश विकासको प्रमुख सूचक सडक मानिन्छ । समृद्ध मुलुक बन्नको लागि फराकिला सडक, शुद्ध खानेपानी, सुरक्षित र व्यवस्थित यातायात प्रणाली हुनु पर्दछ । देशको राजधानी काठमाडौँ अहिले सुन्दर शहर बन्ने एकतर्फी होडमा छ तर जनस्वास्थ्यप्रति सरकारले गरेको बेवास्ता दुःखलाग्दो छ । जननिर्वाचित सरकारले वर्षगाँठ पुरा गर्दापनि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने काठमाडौँवासीको नियतिलाई सम्बोधन गर्न सकेको छैन । हिजोदेखि आजसम्म हिलो र धुलो काठमाडौंवासीको दैनिकी नै बनेको छ ।

मित्रराष्ट्र चीनको सहयोगमा निर्माणाधिन चक्रपथ र आसपासका क्षेत्रहरु लामो समयदेखि अस्तव्यस्त रहेका छन् । विकास नागरिककै लागि गरिएको हुन्छ । तर रोड बनाउँदै गर्दा धुँवा, धुलो, हिलो र अव्यवस्थित निर्माण कार्यले नागरिकको स्वास्थ्यमा पारेको प्रभावप्रति न त परियोजना पक्ष गम्भीर छ, न सरकार, न त महानगरपालिका नै ?

दैनिक हजारौं हजार सानादेखि ठूलासम्म सवारी साधन थानकोट हुँदै उपत्यका प्रवेश गर्छन् । दुई पाङ्ग्रे सवारीसाधन प्रयोगकर्ताहरु घण्टौं लामो ट्राफिक जाम र धुलोको कारणले केही किमीको बाटोमा अनुहारै नचिनिने गरी राजधानी भित्रिन्छन् । कलंकी आसपास उदाहरण मात्र हो । सडक विस्तार र मेलम्चीको पानी पिउने आशामा सिङ्गो उपत्यकावासीले वर्षाैदेखि उहि नियति भोगीरहेका छन् । अहिलेकै गतिमा विकासका संरचनाहरु बन्ने हो भने अझै केही वर्षहरु उपत्यकावासीका लागि कष्टकर हुने प्रष्ट देखिन्छ ।

हिजो अस्थिर सरकार थियो । स्थानीय जननिर्वाचित सरकार नै थिएन । कर्मचारीको भरमा सिङ्गो मुलुक संचालन भएको थियो । तर अहिले सवैतिर स्थिर र जननिर्वाचित सरकार छ । विकासको गति भाषणको तुलनामा कछुवा भन्दा ढिलो रहेको छ । जननिर्वाचित प्रतिनिधिहरु पनि जनस्वास्थ्यप्रति नचाहेर, नभएर वा नजानेर डरलाग्दो हेलचेत्र्mयाई गरिरहेका छन् ।

हामीले बुझेका छौं, विश्वका हरेक शहरहरु समयको क्रमसँगै व्यवस्थित हुँदै गईरहेका छन् । स्थिर सरकारपछि नेपाली विकासले फड्को मार्नेमा कुनै दुविधा छैन तर अहिले विकासको नाममा दैनिक लाखौंलाख नागरिकको जनस्वास्थ्यमा परेको असरप्रति जननिर्वाचित सरकार गम्भीर नहुनु अत्यन्तै दुखद् अवस्था हो ।

संविधानमै ग्यारेन्टी गरिएको गुणस्तरीय स्वास्थ्य, संविधानकै पानामा मात्र सिमिति बनाउने र सिङ्गो मुलुककै राजधानी जहाँ प्रधानमन्त्रीदेखि मन्त्रीहरु र सांसदहरु सवार हुने सडकले जनस्वास्थ्यमा पारेको प्रत्यक्ष असरप्रति सम्बन्धित निकायको लाजमर्दाे वेवास्ताले उपत्यका बाहिर कस्तो अवस्था छ हामी अनुमान गर्न सक्छौं । हजारौंको बलिदानीले बनेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल के यसैको लागि हो ?

 

 

प्रतिक्रिया दिनुहोस्