
काठमाडौ, २१ वैशाख २०७५
राजधानीमा जारी कार्ल माक्स जन्म द्विशतवार्षिकी समारोह तथा राष्ट्रिय गोष्ठीको उद्घाटन सत्र सम्पन्न भएको छ । कार्ल मार्क्स मुल समारोह समितिको आयोजनामा बागबजार स्थित योगम्बर पार्टी प्यालेसमा बिहान ८ बजेवाट कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले मार्क्स, जेनि र एङ्गेल्सविचको सम्बन्ध अतिनै सुमधुर रहेको भन्दै अब मार्क्स संगै एङ्गेल्स र जेनिलाई पनि अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको बताए । त्यसैगरी बिश्वले एक महान नेता र मार्गदर्शकको रुपमा मार्क्सलाई हेरेको हुँदा त्यस्को गम्भीरताका साथ हामिले संसारको अनुभव लिन सकेनौ भने नयाँ चिजको खोजी गर्न नसक्ने एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले बताए ।
कार्यक्रममा बोल्दै एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अक्टोबर क्रान्ति पुँजीवाद क्रान्तिको अन्त्य र समाजवादको सुरुवाती भएको हुँदा १९ र २० औं शताब्दी एक महान र ठूलो उथलपुथल ल्याउन सफल शताब्दी भएको अनि त्यही शताब्दीमा मार्क्सको जन्म भएको बताए ।
त्यसैगरी कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दै माओवादी केन्द्रको अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मार्क्स विलक्षण , दार्शनिक र क्रान्तिकारी भएको हुँदा मार्क्सलाई धर्मशास्त्रमा झैँ भगवान नसम्झि कम्युनिष्टहरुले आफ्नो अभिभावकको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
आज र भोलि गरि दुई दिन संचालन हुने कार्यक्रममा बोल्ने सबैले मार्क्सको चर्चापरिचर्चा गरेका छन् । उद्घाटन सत्र सकिएसंगै यतिबेला योगेश भट्टराईको अध्यक्षतामा बिचार सत्र चलिरहेको छ ।






