कमल गाउँपालिकालाई फुलाउँदै मेनुका पोखरेल



काठमाडौं, १४ वैशाख २०७५

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएकी मेनुका काफ्ले २०४२ सालदेखि पार्टीको भूमिगत कार्यकर्ता बनिन । भूमिगत कालमै पार्टी सहकर्मी चन्द्रकुमार पोखरेलसँग जनवादी विवाह गरेकी उनी प्रजातन्त्र आएपछि २०५० सालमा मात्र आमा बनिन् । हुर्किएका २ छोराहरु र सहकर्मी पति कमरेडको कसिलो साथले मेनुका आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्हालिरहेकी छिन् ।

राजनीतिमा परिपक्व मेनुका विकासको लागि चुनावी बाचा पुरा गर्ने अठोटमा छिन् । ‘कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ’ भन्ने जेनी मार्क्स भनाई अनुसरण गर्ने उनी योगमाया न्यौपाने, साहना प्रधान, अष्टलक्ष्मी शाक्य र विद्यादेवी भण्डारीबाट समेत प्रभावित छिन् ।

एस.एल.सी. पासपछि बुर्जुवा शिक्षा वहिष्कार गर्दै राजनीतिमा होमिएकी नेतृ पोखरेल अनेकौ अवरोध छिचोल्दै झापाको कमल गाउँपालिका अध्यक्षमा निर्वाचित भईन । जिम्मेवारीलाई अवसरको रुपमा लिने उनी आफ्नो गाउँपालिकालाई नमूना बनाएर ‘कमलको फूल झैँ सुन्दर’ बनाउने योजनामा छिन् ।

राजनीतिक यात्रा  

माईतीघर भूमिगतकालमा पार्टीको शेल्टर थियो । घरमै हुने राजनीतिक छलफल र गफगाफले राजनीति प्रतिको आस्था बढ्दै गयो । माईतीघरमा आईरहने अष्टलक्ष्मी शाक्य, पवित्रा निरौला, विष्णु खड्का, सीता बस्नेत, धर्मकला चुँडाल र मेनुका जस्ता नेतृहरुसँगको उठबसले झन राजनीतिप्रति तान्यो ।

विद्यार्थी तथा राजनीतिक आन्दोलनको नेतृत्व गरेका तत्कालिन नेता टंक कार्की नेतृत्वको विद्यार्थी संगठनले २०३६ मा चलाएको विद्यार्थी आन्दोलन शहरदेखि गाउँसम्म फैलियो । विद्यार्थी आन्दोलनको ज्वाला गाउँगाउँसम्म पुगेपछि उनी पनि जोडिन पुगिन् । विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै २०४२ सालदेखि नेकपा (माले)को पूर्णकालीन भूमिगत कार्यकर्ता बनिन ।

परिवर्तनखबरकर्मी ध्रुवप्रसाद घिमिरेसँग कुराकानी गर्दै मेनुका पोखरेल

मृत्युसँग विजय   

भूमिगत जीवनशैली अति नै कठिन थियो । दिउँसो हिड्दा शाषकले थाहा पाउने हुनाले प्राय: रातीराती अध्यारो बाटोबाट हिड्नुपर्ने बाध्यता थियो । झापामा जंगली हात्ती आतंक धेरै नै हुन्छ । झन् त्यतिखेर त धेरै थियो । २०४४ सालको भदौमा बाहुनडाँगी भन्ने गाउँमा जंगली हात्तीले क्षती पुर्याएपछि गाउँलेहरुले आगोको राँको बालेर हात्ती लखेट्ने क्रममा हामी लुकिछिपी हिडेको बाटोमा खेदाएको हात्तीसँग हाम्रो जम्काभेट भयो । ज्यान बचाउनु पर्दा जे नि गर्न सकिने रहेछ, अप्ठ्यारो र निकै ठूलो कान्लो नागेर ज्यान बचायौं ।

पन्चेहरु आन्दोलन दबाउन अनेकौ हत्कण्डा प्रयोग गर्थे, आफ्नै पार्टीका साथीहरुलाई समेत किनेर आन्दोलन विरुद्धमा प्रयोग गरेका थिए । अमृत बोहोरा, ईन्द्र बुढाथोकी सहितको हाम्रो समूह पार्टीकै साथीको घरमा बास मात्रै बस्न लागेका थियौं । हामी भित्रकै साथी बिकेर प्रहरीलाई सूचना दिएछन्, हामी तत्काल शेल्टर छोडेर हिड्यौं, हामी हिडेको केहि समयमैं प्रहरीले उक्त घरमा छापा मारेछ धन्न ! धानबारीको हिलोमै उभिएर त्यो रात कटायौं ।

राजनीतिक जिम्मेवारी

२०३६ सालदेखि विद्यार्थी आन्दोलमा होमीएकी मेनुका अन्तत २०४२ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनिन ।  २०४८ सालदेखि अनेमसंघ केन्द्रिय कमिटीमा रहेका उनी अहिले सचिवको रुपमा कार्यरत छिन् ।

२०५४ सालमा झापा जिविस सदस्यको अनुभव सम्हालेकी उनी २०६४ सालमा झापा-२ को उम्मेदवार समेत बनिन् । २०७० सालमा एमाले समानुपातिक लिष्टमा परेकी उनी सभासद् भने बन्न पाईनन । स्थानीय निर्वाचनमा झापाको  कमल गाउँपालिका अध्यक्षमा निर्वाचित मेनुका २०७३ चैत्रमा सम्पन्न गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा चुनिएकी छन् ।

अध्यक्षको जिम्मेवारी

राजनीतिमा लामो अनुभव सम्हालेकी नेतृ पोखरेलसँग छोरा बोकेरै आन्दोलनमा हिडेका कयौं घटनाहरु ताजै छन् । पार्टी र जनताको सेवामा समर्पित आफ्नो जीवन खुल्ला किताब भएको उनले बताईन ।

कुर्सीमा बसेपछि हेर्न भनेर आफ्नै पार्टीका साथीहरु र अन्य मानिसहरु आएका थिए । शुरुका दिनहरुमा वौद्धिक भन्नेहरु पनि ‘सर वा मेडम’ भन्ने अन्यौलमा देखिए । जिम्मेवारीपछि स्थानीयको बाक्लो उपस्थिति हुन्थ्यो,’ केहि काम छ कि भन्दा छैन, हेर्न मात्र आको’ भन्नेहरुमा आफ्नै पार्टीका साथीहरुसम्म थिए ।

कमल बनाउने योजना

२० वर्षसम्म खाली भएको स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि जनताका अपेक्षाहरु धेरै छन् । रतुवा र कमल दुवै खोलाले उर्वर भुमिमा धेरै क्षति पुर्याएको छ । त्यसलाई नियन्त्रण गर्नैपर्ने छ । बाटो र  सिँचाई पनि हाम्रा ठूला समस्या हुन्, मेरै कार्यकालमा यो समस्या समाधान गर्नु छ । गरिवका छोराछोरी पढ्ने सार्वजनिक विद्यालयको गुणस्तर बृद्धि अर्को गर्नैपर्ने काम हो ।

जग्गा बाँझो राख्ने समस्या हाम्रोमा पनि छ । जग्गा बाँझो राख्न नदिन चेतनामूलक कार्यक्रम गर्ने तयारीमा छौं । सबै खेतीयोग्य जमिनको प्रयोग गर्दै उत्पादकत्व बढाउन कृषिमा अनुदान दिने व्यवस्था गर्दैछौँ । स्थानीय बैंक तथा सहकारीहरूसँग समन्वय गर्दै सामुहिक पशुपालन, तरकारीखेतीको लागि सहुलियतमा ऋण उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री ओलीसँग पनि राम्रो सम्पर्क भएकी मेनुका बालुवाटारमा बजेट बढाउन पुगेकी रहिछिन् । उनी गम्भीर हुँदै भन्छिन, प्रधानमन्त्रीले भन्नु भो ! ‘सरकारसँग पर्याप्त पैसा छैन, मैले झापामा मात्र केन्द्रित गर्न मिल्दैन । जनताले तपाईलाई निर्वाचित गरेका छन्, काम गरेर नमूना गाउँपालिका बनाएर अरुलाई प्रेरणा दिनुपर्छ । ‘

अब के गर्नुहुन्छ भन्ने हाम्रो अन्तिम प्रश्नमा उनले भनिन, ‘मेरो अनुभव र स्थानीयको सहकार्यले श्रोतसाधनको पूर्ण उपयोग गरेर नमूना गाउँपालिका बनाउने प्रयास गर्ने छु ।’

(काठमाडौंमा परिवर्तनखबरकर्मी ध्रुवप्रसाद घिमिरेसँग गरेको कुराकानी आधारमा तयार पारिएको ।)

प्रतिक्रिया दिनुहोस्