नेपाल प्रहरीले ‘गोरे’ खोज्न १९२ देशका प्रहरीको सहायता लिने



काठमाडाैं १३ वैशाख:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ ।

शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरू सदस्य छन् ।

नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् ।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनमा शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए ।

गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत डी फ्यूजन नोटिस जारी गर्नलाई आवश्यक प्रक्रिया सुरु गरिएको हो । याे समाचार अाजकाे नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्