यस वर्ष आर्थिक वृद्धिदर ६.२९ प्रतिशत



काठमाडौं १३ वैशाख : चालू आर्थिक वर्ष ०७४/७५ को आर्थिक वृद्धिदर ६.२९ प्रतिशत रहने प्रक्षेपण राष्ट्रिय तथ्यांक विभागले गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी)को आधारभूत मूल्य (बेसिक प्राइस)मा वृद्धिदर ५.८९ प्रतिशत रहने र वास्तविक आर्थिक वृद्धिदर भने ६.२९ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय रूपमा विभिन्न मुलुकको आर्थिक वृद्धिदरको तुलना गर्दा वास्तविक वृद्धिदरलाई नै आधार मान्ने गरिन्छ ।

 

विभागले चालू आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस्तो तथ्य सार्वजनिक भएको हो । यसक्रममा विभागले विभिन्न १५ वटा अवयवको तथ्यांक अध्ययन तथा विश्लेषण गरी चालू आवको आर्थिक वृद्धिदरको प्रक्षेपण तथा अघिल्लो आर्थिक वर्षको वास्तविक तथ्यांक निकाल्ने विभागका महानिर्देशक सुमनप्रसाद अर्यालले बताए ।

प्रतिव्यक्ति आय वार्षिक १ लाख ४ सय रुपैयाँ
चालू आवमा प्रतिव्यक्ति आय १००४ डलर (करिब १ लाख ४ सय रुपैयाँ) रहने प्रक्षेपण विभागको छ । पहिलोपटक नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलरको चार अंकमा छुँदै छ । अघिल्लो आवमा प्रतिव्यक्ति आय ८ सय ६६ अमेरिकी डलर थियो ।

अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब
विभागको तथ्यांकअनुसार चालू आवमा अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब पुग्नेछ । चालू मूल्यअनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ३० खर्ब ७ अर्ब २४ करोड रहने प्रक्षेपण गरिएको छ । अघिल्लो आवमा जिडिपीको आधार उपभोक्ता मूल्यमा २६ खर्ब ४२ अर्ब रुपैयाँबराबरको थियो । तथ्यांकअनुसार नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रको छ ।

चालू आवमा जिडिपीतर्फ सेवा क्षेत्रको हिस्सा सबैभन्दा बढी ५८ प्रतिशत रहनेछ । दोस्रो स्थानमा रहेको कृषि, मत्स्यपालन तथा वन क्षेत्रले २८ प्रतिशत योगदान गर्छन् भने तेस्रो स्थानमा उद्योग तथा उत्पादन क्षेत्रको हिस्सा रहनेछ । उद्योग तथा उत्पादनले नेपालको कुल गार्हस्थ उत्पादनमा १४ प्रतिशत योगदान गर्ने विभागले प्रक्षेपण गरेको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्