दुई वर्षपछि पनि प्रधानमन्त्रीको बोली फेरिएन



काठमाडौं १३ वैशाख: भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन बुधबार धरहराको फेदनजिकै मञ्च झकिझकाउ थियो। झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा।’

२०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए, ‘म भन्छु हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा।’

ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई वर्ष तीन महिना बितिसकेको छ। तर यसबीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ।

त्यही पनि ओलीले भने दुई वर्ष तीन महिनाअघिको बाचा बिर्सेझैं गरी बुधबार फेरि भन्न भ्याइहाले ‘म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु।’

जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरुप तीन वर्ष बितिसक्दा समेत फेरिन सकेको छैन। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्