राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा.कँडेल



काठमाडौं १२ वैशाख: राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । सोही बैठकले आयोग सदस्यहरूमा डा। कृष्णप्रसाद ओली, प्रा. उषा ठाकुर, दिलबहादुर गुरुङ, इ. सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्द–हडताल गर्न नपाइनेसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को अघिल्लो बैठकबाट यातायात सेवा सञ्चालनका लागि कम्पनीमा दर्ता गर्न–गराउन निर्देशन जारी गर्ने निर्णय भएको थियो । उक्त निर्णयप्रति यातायात व्यवसायीले असहमति प्रकट गर्दै आएका छन् ।

सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

तिलगंगा आँखा अस्पतालबाट हुँदै आएको आँखाको लेन्स उत्पादन कार्यका लागि सरकारले १० करोड अनुदान दिने निर्णय गरेको छ ।

बैठकले सरकारी पदाधिकारी एवं उच्चपदस्थ कर्मचारीको वैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन गर्न बनेको निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ । सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय पनि भएको राज्यमन्त्री बाँस्कोटाले बताए ।

कैलालीमा सञ्चालित रानीजमरा–गुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय संस्थामार्फत उपलब्ध हुने ६ अर्ब ८६ करोड ऋण सहायता लिन बैठकले स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले राष्ट्रिय बसोवास व्यवस्थापन आयोग र त्यसका जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक र चिकित्सा विधेयकसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्