कांग्रेसलाई नवजीवन दिन युवा नेताहरूको ५१ पृष्ठे प्रस्ताव



काठमाडौं १२ वैशाख: कांग्रेसका सात युवा केन्द्रीय सदस्यले पार्टीलाई नवजीवन दिने उपाय भन्दै ५१ पृष्ठको प्रस्ताव ल्याएका छन् । गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, रामकृष्ण यादव र जीवन परियारले मंगलबारको चुनावी समीक्षा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।

केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न छाया सरकार बनाउनेदेखि तत्काल पार्टीको महाधिवेशन गर्दै २० वर्षे कार्ययोजना ल्याउनुपर्ने उनीहरूको प्रस्ताव छ । महासमिति बैठक बोलाएर ०४८ देखि अहिलेसम्मको पार्टीको आरोह–अवरोहको विश्लेषण गर्नुपर्ने माग उनीहरूको छ । निर्वाचन परिचालन प्रभावकारी नहुँदा २० सिट गुमाएको हिसाब पनि उनीहरूले निकालेका छन् ।

सैद्धान्तिक मोर्चामा कम्युनिस्टमाथि प्रश्न उठाउन नसक्दा कांग्रेसको मैदानमा कम्युनिस्टले खेलेको युवा नेताहरुको विश्लेषण छ । ‘कम्युनिस्ट नामधारी पार्टीहरूको मत बढ्नुका कारणलाई थुप्रै कोणबाट विश्लेषण गर्न सकिएला । तीमध्ये एउटा विषय हो–कांग्रेसको मैदानमा कम्युनिस्टको खेल । खेलमैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरूले अत्याधिक राम्रो खेलेका हुन् त ? होइन ।’

उनीहरूले कम्युनिस्टको आयतन बढ्नुको विश्लेषणमा भनेका छन्, ‘मैदानको ७५ प्रतिशत कम्युनिस्टलाई खुला छोडिदिएपछि र २५ प्रतिशतमै हामी रमाएकाले चुनावी नतिजा झन्झन् हाम्रो प्रतिकूल हुँदै गयो । उनीहरूको कुनै पनि सैद्धान्तिक मोर्चामा हामीले प्रश्न उठाउन सकेनौँ ।’

जोशी समूहको छुट्टै प्रस्ताव
नवीन्द्रराज जोशीसहितका नेताहरूले भने ९ बुँदे छुट्टै प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । १५ नेताहरूको यो प्रस्तावमा सात युवा नेताको पनि हस्ताक्षर छ । नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्न शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, किरण यादव र सरिता प्रसाईको हस्ताक्षर छ । महासमिति बैठक ११ जेठभित्र डाक्न, विधानविपरीतका कार्यसम्पादन समिति, टिकट बाँड्ने संसदीय समिति विघटन गर्न, केन्द्रीय निर्वाचन समिति गठन गर्न, संघीय संरचनाअनुसारको पार्टी बनाउन विधान संशोधनका लागि विधान संशोधन मस्यौदा समिति गठन गर्न प्रस्ताव गरिएको छ ।

समयअनुसार परिवर्तन भएनौँ : गगन थापा
निर्वाचनको समीक्षा मात्र होइन, हाम्रो आर्थिक नीति समयानुकूल परिमार्जित नहुँदा पनि हाम्रो जनमत घट्यो । सामाजिक मुद्दालाई बहसमा ल्याउन सकेनौँ । लोकतन्त्रका मुद्दामा हामी कम्युनिस्टको पिछलग्गुजस्तो भयौँ । अब पार्टी पुरानो ढर्राले चल्दैन ।

चार वर्षमा हामी बूढाहरूलाई हटाउनुस् : प्रदीप गिरी
अर्ली महाधिवेशन होइन, चार वर्षमा महाधिवेशन गरेर हामी शेरबहादुरसहितका सबै बूढाहरूलाई हटाउनुस् । राजनीतिमा उमेरहद पनि तोक्नुस् । तपाईंहरू हारको जिम्मा सभापति मात्र हो भन्नुहुन्छ । यो पनि हो, तर अन्तर्घातको कारण हारेका हौँ । युवा नेताहरूको दस्ताबेजमा यो कुरा कतै पनि आएन । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्