क्रिकेटर युवराजले विश्वकपपछि सन्यास लिने



काठमाडौं ११ वैशाख: अलराउन्डर युवराज सिंहले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि सन्न्यास लिने बताएका छन् । सन् २०१७ पछि भारतीय सिनियर क्रिकेट टोलीमा स्थान बनाउन संघर्षरत युवराजले इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा आफू सहभागी हुने दाबी पनि गरेका छन् । त्यही विश्वकप नै आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको अन्तिम प्रतियोगिता हुने उनले बताए । ‘म विश्वकपपछि अन्तर्राष्ट्रिय खेल खेल्दिन,’ उनले भने ।

दुई दशकको यात्रा
युवराज निरन्तर भारतीय टोलीको प्रमुख अलराउन्डरका रूपमा छन् । उनले लगभग दुई दशक राष्ट्रिय टोलीबाट खेल खेलेका छन्् । यसक्रममा उनले एकदिवसीय खेलमा १४ शतक जोडेका छन् । सन् २०१७ को जुनपछि युवराज टोलीमा छैनन् । ‘मलाई विश्वास छ, म पनि विश्वकप टोलीको प्रमुख खेलाडी हुनेछु,’ ३६ वर्षीय युवराजले भने, ‘जब मेरो अन्तिम इच्छा पूरा हुन्छ, त्यसपछि सन्न्यास लिन्छु ।’ सन् २०११ मा भारतले दोस्रोपटक विश्वकप उपाधि जित्दा युवराज प्रमुख ब्याट्सम्यान
बनेका थिए ।

थप योगदान दिने चाहना
युवराजको उमेरमा अन्य क्रिकेटरले सन्न्यास लिइसकेका हुन्छन् । धेरैजसो उनका समकक्षीले ब्याट र बल बिसाइसकेका छन् । तर, युवराजको चाहना भनेको अझै पनि राष्ट्रका लागि केही योगदान दिनु नै हो । यसैकारण आफूले तत्कालै सन्न्यासको सोच नबनाएको युवराजले बताए । ‘धेरैजसो साथीले सन्न्यास लिइसकेका छन् तर म अझै पनि भारतीय टिमलाई केही दिन चाहन्छु, यसै इच्छाका कारण अहिले नै सन्न्यासको सोच नबनाएको हुँ,’ उनले भने । युवराज सन् २००० देखि भारतीय टोलीमा पर्दै आइरहेका छन् । ‘१७–१८ वर्ष निरन्तर रूपमा क्रिकेट खेलिरहेको छु, अझै पनि खेल्ने भोक मेटिसकेको छैन,’ उनले भने, ‘अवश्य पनि म सन् २०१९ मा सन्न्यास लिन्छु ।’

ब्याटिङ अर्डर बलियो
युवराजले भारतको ब्याटिङ अर्डर सर्वाधिक बलियो रहेको दाबी गरेका छन् । ‘मेरो नजरमा भारतको ब्याटिङ लाइनअप सर्वाधिक बलियो छ,’ दाबी गर्दै उनले भने, ‘यसैको बलमा हामीले विश्वकपमा राम्रो नतिजा निकाल्न सक्छौँ ।’ हाल आइपिएलअन्तर्गत सनराइजर्स हैदरावादबाट खेलिरहेका युवराजले क्रिस गेलको ब्याटिङको प्रशंसा गरेका छन् । ‘गेलले यो उमेरमा पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन्, चेन्नईविरुद्धको शतकीय इनिङ उनको अहिलेसम्मकै उत्कृष्टजस्तो लाग्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्