शिक्षा विकास प्रमुखविरुद्ध यौन दुर्व्यवहारकाे मुद्दा



काठमाडौं ११ वैशाख: शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ज्ञानमणि नेपालविरुद्ध यौन दुर्व्यवहार आरोपमा मुद्दा दर्ता भएको छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयले पीडित बालिका र अभिभावकले जाहेरी दरखास्त दिएपछि मुद्दा दर्ता गराएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले मुद्दा दर्ता भए पनि एकाइ प्रमुख भने पक्राउ नपरेको जानकारी दिए । शिक्षा विकास तथा समन्वय एकाइका कर्मचारीले आरोपी नेपाल भने सोमबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख भट्टराईले उनको खोजी भइरहेको जानकारी दिए ।

नेपालले समन्वय एकाइको क्वार्टरमै हिसाब सिकाउने बहानामा यौन दुव्र्यवहार गरेको पीडित बालिकाले आरोप लगाएकी छिन् । नेपालले एकाइको क्वार्टरमा काम गर्ने महिलाकी १५ वर्षीया भतिजीमाथि दुर्व्यवहार गरेको आरोप छ । पीडित बालिका केही दिनदेखि फुपूसँगै बस्दै आएकी थिइन् । उनकी फुपू सोही कार्यालयको क्वार्टरमा खाना पकाउने काम गर्छिन् ।

विद्यालय छुट्टी भएकाले गत बिहीबार बालिका आएको पीडितकी फुपूले बताइन् । यही वेला एकाइ प्रमुख नेपालले बालिकालाई पढाउन भन्दै पाहुना कोठामा लगेको उनले बताइन् । फुपू खाना पकाउन भान्सा कोठामा गएपछि प्रमुख नेपालले ढोकामा चुकुल लगाएर दुव्र्यवहार गरेको बालिकाले बताइन् । पीडित बालिकाले भनिन्, ‘पढाउने बहानामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गर्नुभयो, म पानी पिउँछु भनेर चुकुल खोलेर भागेँ ।’

पीडित बालिकाकी फुपूले बालिका भान्सा आएर रोएपछि घटना सार्वजनिक भएको थियो । उनले भनिन्, ‘सही मनसाय थियो भने पढाउने समयमा किनभित्रबाट चुकुल लगाइयो ? पढाउँदा अंगालो हालेर पढाउनुपर्छ भन्ने छ र ?’ पीडित बालिकाकी आमाले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरकी छन् । उनले भनिन्, ‘निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही हुनुपर्छ ।’

दुर्व्यवहारको आरोप लागेका प्रमुख ज्ञानमणि नेपालले भने निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले बुझाइमा फरक परेको बताए । शरीरमा छोएर पढाउँदा नजिकपन बढ्ने र पढाइमा सकारात्मक असर पर्ने भएपछि नजिकिन खोजेको उनले बताए । उनले भने, ‘मैले बच्चालाई बढी माया गर्ने गरेकाले फसेँ । मेरो कुनै गलत धारणा होइन । खालि बच्चालाई पढाउन खोजेको थिएँ । मेरो चरित्रमाथि दाग लगाउन खोजिएको हो ।’ यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्