किम र पोम्पियोकाे गोप्य भेटघाटबारे प्रश्न



काठमाडौं ६ वैशाख: अमेरिकी गुप्तचर एजेन्सी सिआइएका निर्देशक माइक पोम्पियो गोप्य रूपमा उत्तर कोरियाको भ्रमणमा गए र किम जोङ उनसित भेटघाट गरे । अमेरिकी मिडियाले उच्चस्तरीय सरकारी सूत्रलाई उद्धृत गर्दै समाचार दिएका छन् कि पोम्पियो इस्टरको अवसरमा (३१ मार्च–१ अप्रिल) मा उत्तर कोरियाको यात्रामा गएका थिए ।

पोम्पियोको भ्रमणको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच प्रत्यक्ष संवादको बाटो ‘क्लियर’ गर्नु थियो । यसअघि ट्रम्पले स्वयं कोरियासितको वार्तालाई उच्चस्तरीय बताउँदै किमका साथमा आगामी बैठकका लागि पाँच सम्भावित स्थानबारे विचार विमर्श भइरहेको बताएका थिए ।

गोप्य वार्ताबारे के जान्नुहुन्छ ?
वासिङ्टन पोस्टको रिपोर्टका अनुसार माइक पोम्पियोको उत्तर कोरिया भ्रमण रेक्स टिलरसनको राजीनामा र सिआइए प्रमुखलाई नयाँ विदेशमन्त्री बनाएपछि तत्काल भएको छ । पत्रिकाका अनुसार तत्कालीन अमेरिकी विदेशमन्त्री मेडलिन अल्ब्राइटले २००० मा किम जोङ इलसित भेटघाटका लागि उत्तर कोरियाको भ्रमण गरेका थिए । यसपछि दुवै देशबीच उच्चस्तरमा कुनै सम्पर्क भएको छैन ।

पत्रकारले सिआइए, ह्वाइट हाउस र संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका प्रतिनिधिसमक्ष यस गोप्य भ्रमणको पुष्टिका लागि आवेदन दिएका थिए । तर, तीनै स्थानबाट यस गोप्य भ्रमणबारे कुनै पनि प्रकारको प्रतिक्रिया दिन अस्वीकार गरिएको थियो । तर, पछि रोयटर्सले आफ्ना सूत्रहरूबाट यस भ्रमणको सूचना पुष्टि गरेको थियो ।

कसरी भयो सम्पर्क ?
उत्तर कोरिया र अमेरिकाबीच कुनै कूटनीतिक सम्बन्ध नभए पनि अमेरिकी गुप्तचर अधिकारीले उत्तर कोरियाको भ्रमण गरेको यो नै पहिलो अवसर होइन । पहिले पनि कहिलेकाहीँ दुवै देशका कूटनीतिज्ञ र प्रतिनिधिहरूको भ्रमण हुने गथ्र्यो । यसअघि २०१४ मा नेसनल इन्टेलिजेन्स एजेन्सीका निर्देशक जेम्स क्ल्यापर उत्तर कोरियाको जेलमा कैदीका रूपमा रहेका दुई अमेरिकी नागरिकलाई फिर्ता ल्याउने कोसिसस्वरूप उता गएका थिए ।

यद्यपि दुवै देशबीचको सम्पर्क मुख्य रूपमा अनधिकृत च्यानल र मध्यस्थकर्ताका माध्यमबाट भइरहेको हुन्छ । कोरियाली युद्धपछि कोरियाली प्रायद्वीपको विभाजन भएको ६५ वर्षभन्दा बढी भइसकेको छ । तर, शान्ति सन्धिमा अहिलेसम्म हस्ताक्षर गरिएको छैन ।

कहिले र कहाँ हुन सक्छ वार्ता ?
पछिल्लो महिना डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा आफूले उत्तर कोरियासित प्रत्यक्ष कुराकानीको प्रस्ताव स्वीकार गरेको घोषणा गरेका थिए । यसअघि कुनै अमेरिकी राष्ट्रपति उत्तर कोरियाका शासकसित कहिल्यै आधिकारिक भेटघाट भएको छैन । ट्रम्पले संवाददातासित यो कुराकानी जुन या त्यसअघि नै हुन सक्ने बताएका थिए ।

उत्तर कोरियामाथि मानवअधिकार उल्लंघन र संयुक्त राष्ट्रसंघको प्रतिबन्ध पालना नगरेको आरोप लाग्दै आएको छ । आणविक कार्यक्रमका कारण पनि उत्तर कोरिया विश्व समुदायबाट अलग्गिएको अवस्थामा छ । उत्तर कोरियाले अहिलेसम्म ६ आणविक परीक्षण गरेको छ र उसले लामो दूरीका यस्ता मिसाइल पनि परीक्षण गरेको छ, जुन अमेरिकासम्म पुग्न सक्छ ।

ट्रम्पले यो वार्ता जुनभन्दा पछि नहोस् भनेका थिए, यसलाई ह्वाइट हाउसले गम्भीरतापूर्वक लिएको छ । यद्यपि, पोम्पियोको गोप्य भ्रमणको यस खबरले उत्तर कोरियाका छिमेकी र यस क्षेत्रमा अमेरिकी रणनीतिक साझेदार जापान र अमेरिकाबीच कुराकानीको खबरलाई बल दिएको छ ।

किमका साथ हुने ट्रम्पको यस सम्भावित कुराकानीबाट जापान पनि थोरै चिन्तित देखिइरहेको छ । र, प्रधानमन्त्री सिन्जो अवे संवादका लागि अमेरिका गएका छन् । ट्रम्पले अवेलाई फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा आमन्त्रित गरेका छन् । जहाँ उनले गल्फ खेल्ने योजना बनाएका छन् ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्