यी २ नेपाली साइकलबाट विश्व भ्रमण गर्दै छन्



काठमाडौं ६ वैशाख: पहिलो नेपाली विश्व साइकलयात्री पुष्कर शाहलाई पछ्याउँदै दुई नेपाली युवा यतिबेला साइकलबाटै संसार फन्को मार्दैछन् । साइकलमै संसार घुम्नु धेरैका लागि चुनौतीपूर्ण र अपत्यारिलो हुन सक्छ ।

झापा सुरुङ्गाका युवराजविक्रम मैनाली र पर्वतका भेषबहादुर कँडेल ‘दायाँ’ विश्व साइकल यात्राका क्रममा । त्यही कठिन कामलाई सहज रूपमा फत्ते पार्दैछन्, झापा सुरुंगाका युवराजविक्रम मैनाली र पर्वतका भेषबहादुर कँडेल ।

तस्बिर: कान्तिपुर

साइकलबाटै उनीहरू संसारका कुनाकाप्चा चाहार्दैछन् । ‘साइकलबाटै संसार घुम्ने काम कम चुनौतीपूर्ण रहेनछ,’ विश्व साइकलयात्री मैनालीले भने, ‘तर, चुनौतीको प्रवाह नै नगरी हामी निरन्तर दौडिरहेका छौं ।’

हुन त यी ३० वर्षे तन्नेरीको साइकलबाटै विश्व यात्रा गर्ने पुरानै सपना थियो । जतिबेला पुष्कर शाह साइकलको पाइडल घुमाउँदै विश्व फन्को लाउँदै थिए, त्यहीबेला यिनको मस्तिष्कमा पनि विश्व यात्राको स्वरैकल्पनाले निरन्तर फन्को मारिरहेको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि मैनालीको विश्व यात्रा गर्ने धोको पूरा भयो । साइकल यात्रा गर्ने अन्तिम निर्णयमा पुग्दै गर्दा यिनले रक्तदानलाई आफ्नो यात्राको मुख्य ‘थिम’ बनाए । किन कि भूकम्पका समयमा धेरैले ज्यान गुमाएका थिए । धेरै अंगभंग भएको र त्यो महाविपत्तिमा रगतको चरम अभाव भएको घटना यिनको दिमागमा गडेको थियो । मैनालीले सोचे, ‘रक्तदान जीवनदान’ भन्ने सन्देश विश्वभर फैलाउँछु ।

नभन्दै उनले विश्वभरि नै यो सन्देश फैलाउने अभियान साइकल यात्रामार्फत सुरु गरे । गत ११ मार्च २०१७ का दिन नेपाल–भारत सीमा सहर काँकडभिट्टाबाट यो मिसन सुरु भयो । उनलाई साथ दिए पर्वतका भेषबहादुर कँडेलले । कँडेलसँग पोखरामा भेट भएको थियो । त्यहीँबाट यी युवाले साइकलमै संसार छिचोल्ने प्रण गरे । करिब अढाई वर्षभित्र ४२ मुलुक छिचोलिसके । हाल अमेरिकाबाट क्यानडाको यात्रा सुरु गर्ने तर्खरमा रहेका मैनालीले भने, ‘५ वर्षभित्र डेढ सय मुलुक पुग्ने लक्ष्य लिएका छौं ।’

विपत्तिका बेला रगत अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने सन्देश बाँड्दै फरक भूगोलका यी युवा एउटै अभियानमा सक्रिय छन् । यात्राका क्रममा नेपाललाई संसारमाझ परिचित गराउनु पनि यिनीहरूको अर्को मुख्य लक्ष्य हो । खासगरी ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश पनि बाँड्दै हिँडिरहेका छन् । ‘सगरमाथा र बुद्धको जन्मभूमि देश नेपाल घुम्न निम्तो पनि दिँदै छौँ,’ मैनालीले भने । यात्राका क्रममा यिनीहरूले धेरै दुस्ख व्यहोरे । मैनालीले थपे, ‘कतै लुटियौँ, कतै रेलवे स्टेसनमै सुत्यौँ, कति दिन भोकभोकै हिँड्यौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्