मुलुककै ठूलो सिमेन्ट उद्योगले उत्पादन थाल्यो



काठमाडौं ५ वैशाख: नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सी–शिवम्ले परीक्षण उत्पादन सुरु गरेको छ । करिब एक सातादेखि उद्योगले परीक्षणका रूपमा सिमेन्ट उत्पादन गरिरहेको कम्पनीका सञ्चालक सतिशकुमार मोरले जानकारी दिए । ‘हाल क्लिंकर प्लान्टको निर्माण कार्य नसकिएकाले आयातित क्लिंकरबाट सिमेन्ट उत्पादन भइरहेको छ,’ उनले भने, ‘अहिले उत्पादित सिमेन्टको खपत कम्पनीले आफ्नो आन्तरिक प्रयोजनका लागि मात्रै गर्नेछ ।’ चिनियाँ र नेपाली लगानीकर्ताको संयुक्त लगानीको कम्पनीको उद्योग नवलपरासीको सर्दीमा छ ।

आगामी जेठको दोस्रो सातासम्ममा उद्योगले क्लिंकरसमेत उत्पादन थाल्ने र समेन्टको व्यावसायिक उत्पादन सुरु गर्ने जानकारी पनि मोरले दिए । ‘कम्पनीले २ साताअघि नेपाल गुणस्तर ९एनएस० चिह्नका लागि आवेदन दिएको छ, एनएस पाउनुअघि र क्लिंकर उत्पादन सुरू हुनुअघि आन्तरिक खपतलाई मात्रै उत्पादन गरिनेछ,’ उनले भने । नेपाल गुणस्तर चिह्न प्राप्त नगरी नेपालमा सिमेन्ट विक्री–वितरण गर्न पाइन्न । होङ्सी–शिवम् सिमेन्ट उद्योगमा चीनको होङ्सी ग्रुपको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङस् ३० प्रतिशत गरी साढे ३६ अर्ब रुपैयाँ लगानी छ ।

अहिले ५ सय चिनियाँ र ११ सय नेपाली कामदारले उद्योग निर्माण गरिरहेका छन् । उद्योग निर्माणको काम जनवरी २०१७ बाट सुरु गरिएकोमा १५ महिनामा उत्पादनकै चरणमा पुगेको हो । उद्योगमा एकैपटक १ हजार ६ सयसम्म कामदारले काम गरेका थिए ।

उद्योगमा सिमेन्ट, क्लिंकरका अतिरिक्त १२ मेगावाट विद्युत् निकाल्ने थर्मलप्लान्टसमेत निर्माण भएको छ । उद्योगले ‘होङशिवम्’ ब्रान्डको सिमेन्ट बजारमा ल्याउनेछ । उद्योगले सुरुमा दैनिक ६ हजार मेट्रिकटन र पछि दैनिक १२ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

उद्योगलाई आवश्यक क्लिंकर पाल्पाबाट ल्याइनेछ । पाल्पामा रहेको खानी आसपासका बासिन्दालाई उद्योगले स्थानान्तरण गरी नवलपरासीको सर्दीमै बसोवासको व्यवस्था गरिदिएको छ । उनीहरूलाई सर्दीमा पक्की घर बनाइदिएर स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी र लगानीबोर्डबीच १८ भदौ ०७४ मा ‘परियोजना लगानी सम्झौता ९पिआइए० भएको थियो । सम्झौतामा लगानी सुरक्षा, राष्ट्रियकरण नगर्ने, नाफा लैजान पाउने, कानुनअनुसारको सुविधा दिनेलगायत उल्लेख छ । उद्योगले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्नुका साथै आयात प्रतिस्थापनको लक्ष्य लिएको होङ्सी शिवम्का सञ्चालक सतिसकुमार मोरले बताए ।

यस्ता छन् होङ्सी र शिवम्
होङ्सी ग्रुप चीनको दश ठूलाभित्र पर्ने सिमेन्ट उत्पादक कम्पनी हो । यसले चीनका अलवा लाओस, म्यानमारलगायत मुलुकमा ठूला सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । मकवानपुरको हटियाचारमा रहेको शिवम् सिमेन्टले अहिले दैनिक १ हजार २ सय मेट्रिकटन सिमेन्ट उत्पादन गरिरहेको छ । ४ वर्षअघिदेखि सञ्चालनमा आएको शिवम् सिमेन्टमा हालसम्म करिब ४ अर्ब रुपैयाँ लगानी भइसकेको छ । हाल शिवम् सिमेन्टमा ४ सयजानाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्