लुकेको रहस्य: भारत भ्रमणमा प्रधानमन्त्री ओलीको टोलीमा परेका राजेश हमालको भुमिका के थियो ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछिको भारत भ्रमणका क्रममा कलाकारहरुलाई पनि समावेश गराईएको थियो । जसमा कलाकारको प्रतिनिधित्व गर्दै महानायक राजेश हमाल प्रधानमन्त्रीका टोलीमा भारत भ्रमणमा निस्किएका थिए । पहिलोपटक कलाकारको सहभागिता गराइँदा सिंगो फिल्म इन्डष्ट्रीले सम्मानित महसुस गरेको छ । कलाकारको तर्फबाट महानायक राजेश हमालसंगै दिनेश डीसीले यो अवसर पाए ।

तर, यी दुईको भारत भ्रमणको कुनै प्रयोजन भने देखिएन । भारतमा उनीहरुले कुनै अलग्गै विजनेस पाएनन् । फलत उनीहरु ‘शो पिस’ मात्र बन्न पुगे । त्यसो त प्रधानमन्त्रीको टोलीमा रहेका दुई चार जना महत्वपूर्ण व्यक्तिहरुबाहेक अरु सबै डफ्फा बेरोजगार नै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जानुअघि नेपाली फिल्म इन्डष्ट्रीलाई बलिउडसँग जोड्ने भाषण गरेका थिए । साथै उनले भारत भ्रमणका क्रममा बलिउडका कलाकर्मीसँग अन्तरक्रियाको कार्यक्रम रहेको पनि बताएका थिए । भ्रमणमा राजेश हमालको सहभागितालाई यसैसँग जोडेर हेरिएको थियो ।

तर, नेपाली दूतावासले पहल नगरेको हो कि नसकेको हो, भ्रमण तालिकामा त्यस्तो कुनै कार्यक्रम राखिएको थिएन । बरु नेपाली कलाकारहरुको सम्मानमा इम्पेरियल होटलमा राखेको रात्रीभोजमा केही कलाकारहरुलाई निमन्त्रणा गरिएको रहेछ । तर, त्यहाँ पनि चिनिएका कलाकार राजपाल यादव मात्रै देखिए ।

सोही रात्री भोजमा भारतीय जनता पार्टीका नेता विजय जोलीले राजेश हमाललाई ‘नेपालका अमिताभ बच्चन’ भन्दै अरुलाई चिनाइरहेका थिए । सो कार्यक्रममा उपस्थित नेपालीहरु हमालसँग सेल्फी खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे । अर्का कलाकार दिनेश डिसी भने खासै नोटिसमा परेनन् ।

उच्चस्तरीय भ्रमणमा कलाकारलाई स्थान दिइनु प्रधानमन्त्री ओलीको नयाँ र सुखद अभ्यास हो । तर, उनीहरुको विज्ञता आवश्यक पर्ने कुनै बेग्लै कार्यक्रम नहुँदा यो अभ्यास औचित्यपूर्ण भने बन्न सकेन । (न्युज 24)

प्रतिक्रिया दिनुहोस्