संघीय संसद् भवन पुतली बगौंचामा बन्ने



काठमाडौं २९ चैत: संघीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैंचामा नै बनाउन पहल सुरु भएको छ। यसअघि सेनाले पुतली बगैंचा वरिपरिका सुरक्षा निकाय व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद् भवन बनाउन नहुने अडान लिएको थियो। तर पछिल्लोपटक प्रधानमन्त्री केपी ओली र संघीय संसद्का पदाधिकारीले नै जोड गरेपछि संसद् भवनका लागि पुतली बगैंचा खाली गरिदिन सेना सकारात्मक बनेको हो।

‘दुई वर्षभित्र संघीय संसद्को आफ्नै भवन हुने गरी निर्माण प्रक्रिया अघि बढाउँदैछौं’, सभामुख कृष्णबहादुर महराले बुधबार सञ्चारकर्मीसँग भने। उनले पुतली बगैंचामा संसद् भवन बनाउने र त्यहाँस्थित सेनाका संरचना निर्माणका लागि गृह मन्त्रालय पछाडिको जमिन उपलब्ध गराइने बताए।

पुतली बगैंचामा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, संसद् सचिवालय, संसदीय दलका कार्यालयसमेत सबै संरचना निर्माण हुने छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले संसद्को अब बन्ने भवन अत्याधुनिक हुने बताए। पुतली बगैंचामा संसद् भवन बनाउन सेना पनि सकारात्मक बनेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यकालमा संसद्को अत्याधुनिक भवन बन्छ। पहल सुरु भइसकेको छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्