राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डोल्पा



काठमाडौं २७ चैत: हिमाली जिल्ला डोल्पा खण्ड-खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने खदाङसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

नेपाली सेनाले जिम्मा लिएको जाजरकोट(डोल्पा सडकखण्डअन्तर्गत डोल्पा-रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको ९ किमि सडकखण्ड सुचारु भइसकेको छ। सेनाका अनुसार खदाङ श्रीविण्डे हुँदै चिप्लेभीर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको जानकारी दिएको हो।

पूर्वमन्त्रीसमेत रहेकी संघीय सांसद सत्य पहाडीले आइतबार करोपगाड-खदाङ- श्रीविण्डे-चिप्लेभीर खण्डको ९ किमि सडकखण्डको उद्घाटन गरिन्। यो सडक शुभारम्भ भएसँगै रुकुम-डोल्पा सिमाना त्रिवेणीबजारदेखि खदाङ्सम्म जिप ट्र्याक्टरलगायत यातायात साधन सञ्चालनमा आएका छन्। यो सडक सञ्चालनमा आएसँगै काठमाडौंदेखि डोल्पाको खदाङ हरियापानीसम्म यात्रुले सीधै यात्रा गर्न सक्नेछन्।

जाजरकोट डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जाजरकोट(डोल्पा सडकखण्डको कुल लम्बाई करिब ११८ किमि सडकखण्डमध्ये ११५ किमि सडक निर्माण भइसकेको जानकारी दिए। पहाडीका अनुसार बाँकी ३ किमि सडक बनेपछि डोल्पा सदरमुकाम दुनै पूर्णरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने बताए।

‘अब बाँकी रहेको तीन किमि सडकखण्ड भीर, पहरा र कडा चट्टानयुक्त छ तर सेनाले आत्मविश्वाससाथ दसैंमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम गरिरहेको छ’, कर्णेल पहाडीले भने। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्