
काठमाडौं, २५ चैत
बलिउडका चर्चित नायक सलमान खानलाई काठमाडौं ल्याउने तयारीमा रहेको ओडीसी इन्टरटेनमेन्ट फेरि हौसिएको छ । ओडिसिका प्रबन्ध निर्देशक सिमान्त गुरुङलाई मुम्बईमा रहेको जेए इभेन्ट्स्ले पत्र लेख्दै सलमान आउँदो जेठ १२ गते काठमाडौंमा कार्यक्रम गर्न राजी भएको जानकारी गराएपछि ओडिसी हौसिएको हो ।
जेए इभेन्टस् ‘दबंग – द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको सहजकर्ता संस्था हो । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर नेपालकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम सम्पन्न गर्ने ओडीसी इन्टरटेनमेन्टले नै सलमानलाई ल्याउने तयारी गरिरहेको हो ।
सलमानलाई ल्याउने मिति पटक–पटक सर्नु र उनी जेलको लफडामा पर्नुले कार्यक्रम हुने कि नहुने भन्नेमा आशंका रहँदै आएको छ । तर, आयोजक ओडिसीका प्रबन्ध निर्देशक गुरुङका अननुसार सलमान खान आउने नयाँ मिति तोकिएको छ ।
ओडिसीलाई जेए इभेन्ट्स्ले मिति तोकेर पठाएको पत्र गुरुङले प्रबन्ध निर्देशक गुरुङले सार्वजनिक गरेका छन् । पत्र अनुसार सलमान आउँदो मे २६ अर्थात जेठ १२ मा आयोजना हुने कार्यक्रममा काठमाडौं आउने छन् । जेए इभेन्ट्स्को पत्रका अनुसार सलमान सहित सोनाक्षी सिन्हा, प्रभु देवा, कृती सेनन्, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् ।
यसअघि फागुन २६ गते नेपाल आउने कार्यक्रम थियो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दबंग द टुर रोक्नुपर्ने भन्दै विरोध जनाएपछि सलमानको कार्यक्रम स्थगित भएको थियो । तर पनि आयोजकले कार्यक्रम स्थगित मात्र भएको, सलमान आउने कार्यक्रम यथावत रहेको दावी गर्दै आएको थियो ।





