
काठमाडौं २४ चैत: कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य राखेको आरोप लगाएका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्र भ्रामक रहेको आरोप लगाएका हुन् । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

०६२र६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ,’ उनले भने, ‘श्वेतपत्रमा कांग्रेसका कारण अर्थतन्त्र धराशयी भयो भन्नु कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । विगतका वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धराशयी बनेको हो ।’ पछिल्ला एक दशकका नौवटा सरकारमा सातजना कम्युनिस्ट प्रधानमन्त्री भएको भन्दै मुलुकलाई बेथितिमा लैजाने कम्युनिस्ट प्रधानमन्त्रीबाटै भएको आरोप उनले लगाए ।
आर्थिक वृद्धि ६ प्रतिशत हुँदा कसरी हुन्छ अर्थतन्त्र धराशयी ?
कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको उनको भनाइ थियो ।
‘संविधान जारी भएपछि पनि दुई–दुईवटा कम्युनिस्टका प्रधानमन्त्री भए,’ देउवाले भने, ‘खोइ त उहाँहरूले चुनाव गराउन सक्नु भएको रु चुनाव गराउन कसले रोकेको थियो रु’ अघिल्लो वर्ष दशकौं पछि आर्थिक वृद्धि सात प्रतिशत रहेको भन्दै देउवाले यो वर्ष ६ प्रतिशतको हाराहारीमा रहेकाले अर्थतन्त्र धराशयी भएको भन्न नमिल्ने तर्क गरे । आफ्नो कार्यकालमा मुद्रास्फीति पाँच प्रतिशत कायम रहेको, पर्यटकको संख्या दस लाख पुगेको बताउँदै देउवाले राष्ट्रिय ढुकुटीमा दस अर्ब डलरबराबर सञ्चिति रहेको र २५७ अर्ब सरकारी ढुकुटीमा नगद बचत रहेको अवस्थामा ढुकुटी रित्तो भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।
पाँच वर्षमा पहिलो पार्टी बनाउने दाबी
अहिलेको निर्वाचनमा कांग्रेस कमजोर बने पनि पाँच वर्षमा पहिलो पार्टी बनाउने उनले दाबी गरे । ‘तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरूले पहिलो स्थान ल्याएका हुन्,’ देउवाले भने, ‘यसमा कांग्रेसको कुनै आपत्ति छैन, तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा हामी चुप लागेर बस्दैनौँ ।’ केन्द्रीय सदस्य डा। शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा बनेका सरकारले गरेका विकासका कामलाई जनतासामु लान नसक्दा निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको बताए । पार्टीलाई जीवन्त बनाउन नयाँ ढंगले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।





