प्रेदशको समृद्धिका लागि प्राविधिक शिक्षा : मुख्यमन्त्री राउत



प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउने बताएका छन् । समाजिक विकास मन्त्रालयले बुधबार जनकपुरमा आयोजना गरेको ‘संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशको मुहार फेर्न नसक्ने दाबी गरे । उनले प्राविधिक शिक्षामा जोड दिने गरी नीति निर्माण गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशनसमेत दिए ।

प्राविधिक शिक्षाका लागि मापदण्ड पूरा गरेका संस्थालाई पनि सिटिइभिटीले विभिन्न बखेडा झिक्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । मन्त्री राउतले भने, ‘निश्चित मापदण्ड पूरा गर्नेलाई प्राविधिक विद्यालयको अनुमति दिनुपर्छ, यसका लागि प्रदेश सरकारले पहल गर्छ । सिटिइभिटीले यसमा बखेडा गर्न पाउँदैन ।’

तराईका क्याम्पसको स्तर खस्कियो
प्राविधिक शिक्षालाई प्राथमिकता नदिएसम्म मुलुक समृद्ध नबन्ने उनको भनाइ थियो । विगतमा तराईका कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाएको भन्दै राउतले पछिल्लो समय तराईका कलेजको अवस्था खस्किएको बताए ।

‘प्रदेश २ मा मात्र दुई लाखभन्दा बढी बालबालिका विद्यालयभन्दा बाहिर छन्,’ उनले भने, ‘प्रदेशको समृद्धिका लागि हामीले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउनुपर्छ ।’

सबै बालबालिकालाई विद्यालयमा पुर्‍याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘दलित बालबालिकाका लागि विशेष शिक्षा’लगायत योजनासहितको कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दाहाल, प्रमुख सचिव राजेश्वरमान सिंह, समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रूपाखेतीलगायतको सहभागिता थियो । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्