राष्ट्रिय दल बन्न नसकेका पार्टी संगठन सुदृढीकरणमा



काठमाडौं २२ चैत: निर्वाचन कानुनमा तीन प्रतिशत थ्रेसहोल्ड व्यवस्था गरेपछि अहिलेको संघीय संसद्मा धेरै दलको अस्तित्व संकटमा परेको छ । तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि प्रतिनिधिसभामा सहभागी १८ मध्ये पाँच दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिनिधिसभामा निर्वाचन लड्नका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका २० मध्ये नेपाल लोकतान्त्रिक फोरम र अखण्ड पार्टी नेपाल उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरे ।

निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले मात्रै राष्ट्रिय दलको मान्यता पाए ।

दोस्रो संविधानसभा र त्यसअघिका संसद्मा आफ्नो राम्रो उपस्थिति देखाएका राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले राष्ट्रिय दल बन्न सकेनन् । राष्ट्रिय जनमोर्चा, नेककिपा र राप्रपाले संसद्मा प्रत्यक्षतर्फ एक–एक सिट जिते पनि माले र राप्रपा (प्रजातान्त्रिक)को प्रतिनिधित्व शून्य छ ।

संविधानसभाले संविधान जारी गरेपछि मुलुकमा नयाँ राजनीतिक अध्याय सुरु भएको र त्यो अध्याय सफल बनाउन पुराना दलबाट सम्भव नहुने भन्दै खोलिएका नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझाले पनि आफ्नो उपस्थिति राष्ट्रिय दलका रूपमा देखाउन सकेनन् ।

सबै दल संगठन सुदृढीकरणतिर
राष्ट्रिय दलको मान्यता पाउन नसकेका तर, मुलुकभर कमजोर भए पनि संगठन भएका यी सात दलले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउन संगठन सुदृढीकरणमा पार्टीको ध्यान केन्द्रित गरेको बताउँछन् ।

‘पार्टी निर्वाचनको मुखैमा विभाजन भएकाले सशक्त रूपमा भएको संगठन परिचालन गर्न नसक्दा र कांग्रेससँगको चुनावी तालमेलका कारण हामी पहिलो पार्टी बन्न सकेनौँ’ राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले नयाँ पत्रिकासँग भने ‘अर्को निर्वाचनमा पार्टीको गुमेको साख कसरी फर्काउने भन्ने विषयमा हामी रणनीति बनाइरहेका छौँ । संगठन सुदृढीकरणमा पार्टीले ध्यान केन्द्रित गरिरहेको छ ।’

राप्रपाले संगठन सुदृढीकरणको रोडम्याप तय गर्न आगामी वैशाख ७, ८ र ९ गते वीरगन्जमा केन्द्रीय परिषद् बैठक बोलाएको छ । राप्रपा प्रजातान्त्रिकले पनि संगठन सुदृढीकरणको रणनीति तय गर्न केन्द्रीय परिषद् बैठक बोलाउने तयारी गरिरहेको जनाएको छ ।

यता, नयाँ उदाएका तर राष्ट्रिय दलको मान्यता पाउन चुकेका नयाँ शक्ति र विवेकशील साझा पार्टी संगठन सुदृढीकरणमा व्यस्त छन् । विवेकशीलले केही दिनअघि मात्र केन्द्रका १२ विभाग गठन र तीनवटा प्रदेशमा प्रदेश समिति निर्माण गरेको छ । पार्टी प्रवक्ता डा. जयराज आचार्यले आफूहरू संगठन सुदृढीकरणमा रहेको जानकारी दिए । नयाँ शक्ति पार्टीले पनि केन्द्रका र प्रदेशका विभाग गठन गरी उनीहरूलाई सांगठनिक प्रशिक्षण दिइरहेको बताएको छ ।

राष्ट्रिय जनमोर्चा र नेकपा मालेले जिल्ला–जिल्लामा कार्यक्रम गर्दै आमनागरिकलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।

निर्वाचनमा भाग लिएका, तर केही स्थानमा मात्र कमजोर संगठन भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, युवा नेपाल पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता भने अन्य ठूला दलसँग मिलेर आफ्नो अस्तित्व बचाउन लागिरहेका छन् । पार्टीको अस्तित्व गुमे पनि आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने ध्यानमा उनीहरू लागिरहेका छन् ।

राप्रपा परिषद् बैठक वैशाखमा
तीन तहको निर्वाचनको समीक्षा र पार्टीको भावी कार्यदिशा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय परिषद् बैठक बोलाएको छ । वीरगन्जमा २३, २४ र २५ वैशाखमा बस्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको राजनीतिक कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, बैठकमा संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना महामन्त्री तथा संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले पेस गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टीको महाधिवेशनपछिको शक्तिशाली निकाय परिषद् बैठकमा दुई–दुई कार्यपत्रमा बहस गरी पार्टीको भावी कार्ययोजना तय गरिनेछ ।

‘बैठकमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन कस्ता भावी कार्ययोजना बनाउने र आगामी पाँच वर्षमा पार्टीको दिशा कुन हुने भन्ने विषयमा आवश्यक छलफल गरी निष्कर्ष निकाल्ने तयारी छ’ सहप्रवक्ता श्रेष्ठले भने । करिब ६ सयजना प्रतिनिधि रहने परिषद् बैठकको व्यवस्थापनका लागि पार्टीले समिति बनाएर उसले काम थालिसकेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्