स्थानीय तहले रकम नदिँदा विद्यार्थीले पाएनन् पाठ्यपुस्तक



स्थानीय तहले विद्यालयलाई रकम नदिँदा विद्यार्थी पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन् । पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्रबाट किनेर लगेका विद्यालय तहका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । केन्द्र सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तकका लागि सबै स्थानीय तहलाई रकम निकासा गरिसकेको छ ।

गाउँपालिकाले विद्यालयको खातामा रकम पठाउन ढिलाइ गरेका कारण पाठ्यपुस्तक खरिद गर्न ढिलाइ भएको धौलागिरी आधारभूत विद्यालय खजुराका प्रधानाध्यापक केशव लामिछानेले बताए । उनले रकम निकासा नहुँदा गोदाममा आएको पुस्तक किन्न नसकेको बताए । उनले पाठ्यपुस्तक खरिद गर्न अझै एक हप्ता लाग्ने बताए ।

आदर्श मावि खजुराका प्रधानाध्यापक राजेन्द्रप्रसाद सापकोटाले पनि गाउँपालिकाले रकम निकासा नगरेकै कारण पाठ्यपुस्तक खरिदमा ढिलाइ भएको बताए । उनले विद्यार्थी भर्ना अभियान नजिकिएको, तर रकम नपाएकै कारण पुस्तक किन्न नसकिएको बताए । ‘यतिखेर पाठ्यपुस्तक विद्यालयमा पुर्याइसक्नुपर्ने वेला हो, विगतमा यो अवधिमा ९० प्रतिशत पुस्तक विद्यालयमा पुर्याइसक्थ्यौँ,’ उनले भने । सरकारले ३ वैशाखभित्र सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन विद्यालयलाई परिपत्र गरे पनि उनले भर्ना अभियानअघि दिने सम्भावना न्यून रहेको बताए । ‘एकातिर सरकारले भर्ना हुनासाथ विद्यार्थीको हातमा पुस्तक थमाउनु भनेर निर्देशनात्मक परिपत्र गर्छ, अर्कोतिर स्थानीय तहले विद्यालयको खातामा रकम पठाउन ढिलाइ गरिरहेका छन्, हामी दुवैको चेपुवामा पर्ने भयौँ,’ सापकोटाले भने ।

रकम निकासा नहुँदा रैनापुर गाउँपालिका–४ मटेहियास्थित महेन्द्र माविले पनि पाठ्यपुस्तक खरिद गर्न कुनै तयारी गरेको छैन । रकम नपाउँदै पुस्तक खरिद गर्न सक्ने अवस्था नभएकाले कुनै तयारी नगरेको विद्यालयका प्रधानाध्यापक पेस्कार सिंहले बताए । उनले पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहमा रकम आए पनि निकासा गर्न ढिलाइ भएको बताए । ‘विद्यार्थी भर्ना अभियानअघि पुस्तक खरिद गर्न सक्ने सम्भावना कमजोर बन्दै गएको छ,’ उनले भने ।

किन पठाएनन् रकम ?
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले विद्यार्थीको रेकर्ड नआएकाले पुस्तक खरिदका लागि रकम विद्यालयमा नपठाएको बताइन् । रैनापुर गाउँपालिकाका कार्यकारी अधिकृत मोहम्मद स्माइल खाँले शिक्षा शाखाका संयोजकले विद्यार्थीको यकिन तथ्यांक नदिएका कारण रकम निकासा नगरेको बताए । विवरण आउना साथ रकम विद्यालयको खातामा पठाउने बताए ।

बाँकेका व्यवसायीले खरिद गरे तीन हजार सेट
बाँकेका पुस्तक व्यवसायीले नेपालगन्जस्थित जनक शिक्षा सामग्री केन्द्रबाट तीन हजार सेट विद्यालय तहका पाठ्यपुस्तक खरिद गरेको केन्द्रका प्रमुख रवीन्द्रकुमार शर्माले बताए । उनका अनुसार शिक्षा विभागले बाँकेमा पाँच हजार सेट पाठ्यपुस्तक आवश्यक भएको फ्ल्यास रिपोर्ट पठाएको छ । सोहीअनुसार पाठ्यपुस्तक काठमाडौंबाट ल्याइएको शर्माले बताए ।

प्रधानमन्त्री कार्यालयको निर्देशन पूरा गर्न कठिन
प्रधानमन्त्री कार्यालयले १ देखि १० कक्षासम्मको पाठ्यपुस्तक २५ चैतभित्र सबै जिल्ला सदरमुकाममा पुर्याइसक्न जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन संस्थालाई निर्देशन दिइसकेको छ । जनक शिक्षा सामग्री केन्द्र नेपालगन्ज कार्यालय प्रमुख शर्माले प्रधानमन्त्रीको कार्यालयले सबै जिल्लाका पुस्तक व्यवसायीलाई यही चैत २५ गतेभित्र पाठ्यपुस्तक बिक्री–वितरण गर्न–गराउन निर्देशनात्मक परिपत्र पठाएको, तर जिल्लामा लगेका पुस्तक बिक्री गर्न समस्या रहेको बताए । ‘पुस्तक व्यवसायीले पाठ्यपुस्तक लगे पनि डिपोमै थन्किएको सूचना आएको छ,’ उनले भने, ‘जिल्लामा गएका पुस्तक बिक्री हुन्न कि भन्ने शंका लागेको छ ।’

नेपालगन्जबाट १५ लाख पुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जले साबिक मध्यपश्चिमका १६ जिल्लामा १५ लाख एक हजार ५ सय ३८ थान पाठ्यपुस्तक पठाइसकेको छ । अहिलेसम्म ५० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक जिल्लामा पुगेको केन्द्रका प्रमुख शर्माले बताए । उनले २५ चैतभित्र शिक्षा विभागले पठाएको फ्ल्यास रिपोर्टअनुसारको पुस्तक जिल्लामा पठाइसक्ने जानकारी दिए ।

केन्द्रले जुम्लामा ६२ हजार पाँच सय ५०, हुम्लाका लागि ४९ हजार २७, डोल्पामा २९ हजार एक सय तीन र मुगुमा १८ हजार तीन सय ७५ थान पाठ्यपुस्तक पठाएको छ । त्यसैगरी कालिकोटमा ८८ हजार नौ सय तीन, रोल्पाका लागि एक लाख ८० हजार आठ सय ४४ थान तथा रुकुममा ९० हजार नौ सय ८१ थान पुस्तक गइसकेको केन्द्रका प्रमुख शर्माले बताए । उनले सल्यानका लागि एक लाख २७ हजार ४०, प्युठानका लागि एक लाख २० हजार २५, दैलेखमा दुई लाख सात हजार १७, जाजरकोटमा ५८ हजार तीन सय ७९, सुर्खेतमा एक लाख ५६ हजार आठ सय ५०, बर्दियामा दुई लाख ९१ हजार एक सय ४० र बाँकेमा २१ हजार तीन सय पाँच थान पुस्तक गइसकेको बताए ।

करोडौँका पुस्तक गोदाममै
शिक्षा विभागले दिएको फ्ल्यास रिपोर्टका आधारमा पुस्तक मगाए पनि बिक्री नहुने गरेको जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जले जनाएको छ । गत वर्ष जिल्लामा पठाएको पुस्तक बिक्री नभएर फिर्ता भएको केन्द्रका प्रमुख रवीन्द्रकुमार शर्माले बताए । गत वर्ष दुई करोड रुपैयाँबराबरको दुई लाख थान पुस्तक गोदाममै थन्किएको बताए ।

केन्द्रले फ्ल्यास रिपोर्टका आधारमा पुस्तक पठाए पनि विद्यालयले नकिनेका कारण सरकारले छापेको पुस्तक गोदाममा थन्किएको उनले बताए । ‘विद्यार्थी भर्ना भए पनि पुस्तक किनेको पाइँदैन, कतिपय विद्यालयमा विद्यार्थी भर्ना धेरै देखिने, तर पुस्तक नकिनेको रेकर्ड पनि देखिन्छ,’ शर्माले भने, ‘विद्यालयका कारण विद्यार्थीले पुस्तक नपाउने समस्या छ ।’

कुपन प्रणाली लागू गर्न सुझाब
विद्यार्थीलाई सर्वसुलभ रूपमा समयमा पुस्तक वितरण गर्न राज्यले कुपन प्रणाली लागू गर्नुपर्ने धारणा शर्माको छ । पूर्वशिक्षासचिवको संयोजकत्वमा बनेको आयोगले पनि कुपन प्रणालीमार्फत पुस्तक वितरण गर्दा उपयुक्त हुने प्रतिवेदन सरकारलाई बुझाएको बताउँदै उनले यस प्रणाली लागू भए मागअनुसारको आपूर्ति हुने बताए । ‘कुपन प्रणाली लागू भए आर्थिक चलखेल बन्द भई सरकारी रकम बचत हुने देखिन्छ नै, विद्यार्थीको हातमा पुस्तक पनि समयमा पुग्नेछ,’ उनले भने ।

पुस्तक बिक्री नभएको व्यवसायीको गुनासो
पाठ्यपुस्तक बिक्री गर्न डिपोमा ल्याए पनि अहिलेसम्म कुनै विद्यालयले नलगेको खजुरास्थित बागेश्वरी स्टेसनरी एन्ड सप्लायर्सका प्रोप्राइटर सतिश निरौलाले बताए । ‘एक हप्ताअघि नै पुस्तक डिपोमा ल्याइसकेका छौँ, तर कुनै पनि विद्यालयले लगेको छैन,’ उनले भने । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्