यी हुन् २०१५ मा बीबीसीले छानेका उत्कृष्ट १० फिल्म



काठमाडौँ, २१ चैत

सन्बी २०१५ मा बीसीका फिल्म समीक्षक ओवन ग्लीवरम्यानले वर्षका १० उत्कृष्ट फिल्मको सुची बनाएका थिए ।

उक्त सुचीमा दुई डकुमेन्ट्री र दुई हलिउड ब्लकबस्टर पनि परेका थिए । जुन यस प्रकार छन् :-

१०. एमी


२७ वर्षको उमेरमा दिवंगत भएकी गायिका एमी वाइनहाउसका बारे बेलायती निर्देशक आसिफ कपाडिया (कपाडियाकै फिल्म ‘वारियर’बाट इरफान खान स्थापित भएका थिए) ले बनाएको डकुमेन्ट्री फिल्म ‘एमी’ ले गायिका बारे धेरै नयाँ तथ्य प्रकाशमा ल्याउँछ। जम्मा दुईवटा एल्बम निकालेकी भए पनि एल्कोहोलिक एमीका बारे मिडियामा यतिधेरै कुरा लेखिएको थियो कि उनका बारे के नै जान्न बाँकी होला भन्ने लागेको थियो। तर, निर्देशकले निकै रोचक ढंगले उनको कथा भनेका छन्।

९. क्लाउड्स अफ सिल्स मारिया


ओलिभर एस्यासको एक अभिनेत्रीका बारे बनेको यो ड्रामा वर्षको अर्को उत्कृष्ट फिल्म हो। जुलियट बिनोचीले आफ्नो मिडलाइफ क्राइसिसमा पुगेकी अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् भने क्रिस्टिन स्टुअर्टले उनकी सहायकको। कलाकारको जीवनमाथि बनेको यो राम्रो फिल्म हो।

८. क्रिड


र्‍यान कुग्लरको यो हाइभोल्टेज बक्सिङ साइकोड्रामा उत्तम ‘पपकर्न मुभी’ हो। बक्सिङमाथि बनेको सिल्भेस्टर स्टालोनको ‘रकी’ श्रृंखलाको यो फिल्म रकीभन्दा फरक छ। एडोनिस जोनसन (माइकल बी. जोर्डन)ले आफ्ना बुबा कुनै बेलाका प्रसिद्ध बक्सर थिए भन्ने थाहा पाउने र उनलाई आफ्नो प्रशिक्षक बन्न प्रेरित गर्ने यो कथामा स्टालोन र जोर्डनको अभिनय तारिफ योग्य छ।

७. दि इन्ड अफ दि टुर


जेम्स पोन्सोल्डको यो फिल्म लेखक डेविड फोस्टर वालेसको जीवनमाथि बनेको छ। ज्यासन सिगलले वालेसका रुपमा अद्भूत पफर्मेन्स दिएका छन्। फिल्म लेखक वालेसको आत्महत्याको वरिपरि घुमेको छ।

६. इन्साइड आउट


यो एनिमेसन फिल्मले एनिमेटेड चरित्रका माध्यमबाट मानवीय भावनाहरुको नयाँ व्याख्या पेस गर्छ। रिस, डर, घृणा, खुसीजस्ता भावनालाई चरित्र बनाएर बनाइएको यो फिल्मले मलाई अनौठो अनुभूति दिलाएको थियो।

५. ट्रेनरेक


जुड एप्टोको यो रोमान्टिक कमेडी एउटी म्यागजिन लेखकका बारे छ। वयस्क उमेरमा प्रवेश गर्दै गरेकी स्वतन्त्र र बिन्दास केटीका बारेको यो फिल्मको मूख्य भूमिका अभिनय गरेकी अभिनेत्री एमी सुमरले नै यसको पटकथा पनि लेखेकी हुन्। यो फिल्म गएको वर्षको उत्कृष्ट रोमान्टिक कमेडी हो।

४. गोइङ क्लियर : साइन्टोलोजी एन्ड प्रिजन अफ बिलिफ


एलेक्स गिब्नेको यो डकुमेन्ट्री साइन्टोलोजी मत र यसका अनुयायी केही हलिउड सेलिब्रिटीहरुको चर्चसँगको सम्बन्धबारे प्रकाश पार्छ। लरेन्स राइटको पुस्तक ‘गोइङ क्लियर : साइन्टोलोजी, हलिउड एन्ड दि प्रिजन अफ बिलिफ’मा आधारित यो फिल्मले जोन ट्राभोल्टा र टम क्रुजजस्ता स्टारसँग चर्चले गरेका गलत व्यवहारका बारे पनि प्रकाश पार्छ।

३. लभ एन्ड मर्सी


‘दि बिच ब्वाइज’ ब्यान्डका गायक एवं गीतकार ब्रेन विल्सनको जीवनमा आधारित बील पोहल्डको ‘लभ एन्ड मर्सी’ यो वर्षका उत्कृष्ट फिल्ममा पर्छ। विल्सनको भूमिकामा पल डानोको अभिनय यो वर्षको उत्कृष्ट पर्फमेन्स हो। २५ वर्षपछि दोस्रो फिल्म निर्देशन गरेका बीलले यसमा आफ्नो कला र कथा भन्ने शैलीको गजब प्रदर्शन गरेका छन्।

२. म्याड म्याक्स : फ्युरी रोड


म्याड म्याक्स श्रृंखलाको यो नयाँ अष्ट्ेरलियन–अमेरिकन एक्सन फिल्म यो वर्षको सबभन्दा राम्रो एक्सन–थ्रीलर हो। टम हार्डी र चार्लिज थेरोनले मुख्य भूमिकामा अभिनय गरेको जर्ज मिलरको यो एक्सन एड्भेन्चरले भविष्यमा पानी र पट्रोलियम सकिएर संसार नै मरुभूमिमा परिणत भयो भने के होला भन्ने देखाउँछ।

१. क्यारोल


१९५० को न्यूयोर्कको यो कथा ‘दि प्राइस अफ सल्ट’ उपन्यासमा आधारित छ। केट ब्लान्चेट र रुनी माराले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले उदीयमान फोटोग्राफर र सम्बन्ध विच्छेदको चरणबाट गुज्रिइरहेकी महिलाको सम्बन्धको कथा भन्छ।

प्रतिक्रिया दिनुहोस्