
जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रमा पर्यटकहरूको भिड बढ्न थालेको छ । हिमशृंखलालगायतका प्राकृतिक सुन्दरताको दृश्यावलोकनका साथै स्थानीय परिकारको स्वाद लिन तनहुँका बन्दीपुर, मिछुर्लुङलगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकको भिड लाग्न थालेको हो । पर्यटकको आगमनमा वृद्धिसँगै स्थानीयले आर्थिक स्थितिलाई समेत बलियो बनाएका छन्।
कतिपयले एकल व्यवसाय गरेका छन् भने कतिपय गाउँमा सामुदायिक होमस्टे सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । पर्यटकको आगमनले स्थानीय संस्कृति र आर्थिक विकासमा सहयोग पुगेको स्थानीयको भनाइ छ । पर्यटकीय नगरी पोखरा, चितवनका साथै टाढाबाट समेत तनहुँमा पर्यटक आउने क्रम बढ्दो छ ।
बन्दीपुरमा अहिले दैनिक ५ देखि ७ सय, वार्षिक ८० हजार पर्यटक
तनहुँको प्रसिद्ध ठाउँ ‘पहाडकी रानी’ को उपमा पाएको बन्दीपुरमा यतिखेर पर्यटकको भिड छ । अहिले दैनिक पाँचदेखि सात सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंस गुरुङले बताए । यस क्षेत्रमा वार्षिक ८० हजार पर्यटक आउने गरेका छन् । पोखरा, चितवन, काठमाडाैँ गोर्खा, विराटनगर, नेपालगञ्जलगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् ।
होमस्टेको आकर्षण
पर्यटकहरू बन्दीपुरको होमस्टेमा खान र बस्न आकर्षित भएका छन् । सामुदायिक होमस्टे बन्दीपुरमा यतिखेर पाहुनाहरूको भिड रहेको होमस्टे सञ्चालक समितिकी सदस्य सीता सदाशंकरले बताइन् । ‘पारिवारिक वातावरणमा गरिने स्वागत, सत्कार र खानाका मौलिक परिकार पाहुनाले रुचाउने गर्छन्,’ उनले भनिन् ‘हिमश्रृंखलाको दृश्यावलोकन गर्न मौसम अनुकूल रहेकाले पर्यटक वृद्धि हुँदै छ ।’
विदेशी र स्वदेशी दुवै पर्यटक होमस्टेमा आउने गरेका छन् । प्रायजसो स्वदेशी पाहुनाले बढी मात्रामा होमस्टेको मजा लिने गरेका छन् । कोदाको रोटी, लोकल कुखुराको मासु, गुन्द्रुक र ढिँडोका परिकार पाहुनाको पहिलो रोजाइमा पर्ने गरेको छ ।
सामुदायिक होमस्टे बन्दीपुरका अध्यक्ष दिलकुमारी रानाले होमस्टे महिलाहरूबाट मात्रै सञ्चालनमा ल्याइएको बताइन् । उनले भनिन्, ‘पर्यटकहरू होटलमा बस्नभन्दा यहाँको संस्कृतिसँग रमाउन मन पराउँछन्, त्यसैले मौलिक संस्कृतिसँगै खाने र बस्ने वातावरणको व्यवस्था गरेका छौँ ।’ अझै प्रचारप्रसार बढाएर बन्दीपुरमा पर्यटक भित्राउँदै आर्थिक समृद्धि सम्भव रहेको उनको भनाइ छ ।
होमस्टेमा बस्न आउने स्वदेशी र विदेशी पाहुनालाई छुट्टाछुट्टै शुल्क लिइने गरेको छ । होमस्टेले स्वदेशीका लागि ६ सय ५० रुपैयाँ र विदेशी पाहुनाका लागि एक हजार मूल्य तोकेको छ ।
मौलिक खानाका परिकार
कोदाको रोटी, गुन्द्रुक तथा ढिँडोको परिकार खान पाउनेछन् । पर्यटकले अग्र्यानिक खानाका साथै गाउँको परम्परागत खानेकुराको स्वाद लिन सक्नेछन् ।
नमुना गाउँपालिका बनाउने लक्ष्य
गाउँपालिकाका प्रमुख पूर्णसिंह थापाले समग्र बन्दीपुरलाई भिन्न र नमुना गाउँपालिकाका रूपमा विकास गर्न लागिएको बताए । अन्तर्राष्ट्रियस्तरसम्म पर्याप्त प्रचारप्रसार गर्न नसकेको उनले बताए ।
मिछुर्लुङ होमस्टेमा आन्तरिक पर्यटक
मिछुर्लुङ होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । मौलिक खानाका परिकारसँग पर्यटक बढी मात्रामा रमाउने गरेका छन् । होमस्टेमा गुन्द्रुक, ढिँडो, लोकल कुखुराको मासु, सेलरोटी, भटमासलगायतका परिकारको स्वाद लिन सकिनेछ । मगर समुदायको बस्ती रहेको सो गाउँमा पर्यटकलाई संस्कृति झल्किने परम्परा र वेशभूषामा सजिएर स्वागत, सत्कारका साथै खाना खुवाउने गरिएको छ ।
मिछुर्लुङ होमस्टेका अध्यक्ष नरेन्द्र थापा मगरले ग्रामीण क्षेत्रका गाउँहरू अहिले उपयुक्त गन्तव्य बनेकाले यसमा राज्यले सहयोग गर्नुपर्ने बताए । उनले होमस्टेले गाउँलाई समृद्ध बनाउनुका साथै आम्दानीको स्रोत बढाउन मद्दत पुर्याएको बताए ।
सम्भावना बोकेका अन्य गाउँ
जिल्लाका टुटेपानी, मिछुर्लुङ, भुजिकोटलगायतका गाउँमा पनि पर्यटकीय सम्भावना छ । ठाउँहरूको पर्यटन प्रवद्र्धन गर्न सकेमा गाउँको आर्थिक समृद्धिमा टेवा पुग्ने स्थानीयको भनाइ छ । यी गाउँमा पर्यटकका लागि सेवासुविधा बढाउने, धार्मिक, ऐतिहासिक क्षेत्र संरक्षणमा लैजानुपर्ने अवस्था रहेको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बताए । (नयाँ पत्रिका)





