
सरकारलाई छोटो प्रक्रियाबाट बजेट ल्याउन प्रदेश सभाले बाटो खोलेको छ । मंगलबारको प्रदेश सभा बैठकले नियमावलीका केही नियम तथा उपनियम निलम्बन गरेर छोटो प्रक्रियाबाट बजेट ल्याउने बाटो खोलेको हो ।
बैठकले आर्थिक कार्यविधि विधेयक छोटो प्रक्रियाबाट पारित गर्नका लागि नियमावलीको नियम १० को उपनियम १ र २ निलम्बन गरेको छ । नियमावलीमा संसद्मा दर्ता भएको विधेयकमाथि पाँच दिनसम्म संशोधन दर्ता गराउन पाउने व्यवस्था छ । विधेयक पारित हुने प्रक्रिया लामो भएपछि प्रदेश सरकारलाई अल्पकालीन बजेट ल्याउन समस्या भएको थियो ।
कार्यविधि पारित हुन समय लाग्दा बजेट ल्याउन ढिलो हुने भएकाले प्रदेश सभा बैठकले नियमावलीको नियम २१६ को उपनियम १ बमोजिम संशोधन प्रस्ताव दर्ता गराउन पाउने व्यवस्था रहेको नियमावलीको नियम १० को उपनियम १ र २ एउटा विधेयकका लागि निलम्बन गरेको हो । अब आर्थिक कार्यविधि विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न पाइनेछैन ।
बैठकमा एमालेका सचेतक तारा लामा तामाङले प्रदेश सभाको नियमावलीको नियम ११० को उपनियम १ र २ निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । जसलाई सर्वसम्मतिले पारित गरेको हो ।
आर्थिक कार्यविधि विधेयक प्रस्तुत
प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आर्थिक कार्यविधि विधेयक प्रस्तुत गरेका छन् । त्यसमाथि बुधबार विधायन समितिमा छलफल गरिनेछ भने बिहीबारको संसद् बैठकमा समितिले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि संसद्ले विधेयक पारित गर्ने जनाएको छ ।
विधेयक प्रमाणीकरण भएलगत्तै चालू आर्थिक वर्षका बाँकी तीन महिनाका लागि अल्पकालीन बजेट ल्याउने प्रदेश सरकारले तयारी गरेको छ । एक साताभित्रै बजेट ल्याइने आर्थिक मामिला मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
संसद्मा कसले के भने ?
मंगलबारको बैठकमा आर्थिक कार्यविधि विधेयकमाथि भएको सामान्य छलफलमा भाग लिँदै कांग्रेस सांसदहरूले प्रतिपक्षको भावनाको कदर हुने गरी बजेट ल्याउनुपर्ने जिकिर गरे । एमालेका सांसदहरूले बजेटले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा बताए ।
आर्थिक कार्यविधि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री बोहराले प्रदेश सभाका सदस्यको राय र सुझाबअनुसार नै बजेट ल्याउने प्रतिबद्धता जनाए । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिनुपर्ने, भारतसँगका नाका व्यवस्थित गर्नुपर्नेलगायत विषयमा जोड दिए । (नयाँ पत्रिका)





