
भूकम्पपीडितलाई ९० प्रतिशत राजस्व छुटमा सरकारले उपलब्ध गराउने काठमा आर्थिक चलखेल भएको छ । जिल्ला आपूर्ति समितिले जिल्ला समन्वय समितिको प्रांगणमा घाटगद्दी गर्ने गरी काठ ढुवानी गर्न व्यावसायिलाई पत्राचार गरेको थियो । सुरुमा पत्रकै आधारमा समन्व समितिको प्रांगणमै काठ व्यवसायीले केही टिप काठ झारेका थिए । तर पछि जिल्ला वन कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा काठ व्यवसायीले नियमविपरीत अन्यत्रै काठ घाटगद्दी गर्न थालेका छन् ।
अन्यत्रै झारिएको काठ समितिले नबुझ्ने
ठेकेदारले आफुखुसी सुकाजोर खोलामा काठ घटगद्दी गरेका हुन् । सुकाजोर खोलामा झारिएको काठ जिल्ला आपूर्ति समितिले नबुझ्ने समितिका सदस्यसचिव सहायक वन अधिकृत मणिराम यादवले बताए । उनले भने, ‘हामीले जिल्ला आपूर्ति समितिले घाटगद्दी गर्ने ठाउँमै काठ झार्न अनुरोध गर्दासमेत काठ व्यवसायीले आफूखुसी अवैद्य ढंगले अन्यत्र नै काठ झारेका छन् । व्यवसायीले आफूखुसी झारेको काठ जिल्ला आपूर्ति समितिले कुनै पनि हालतमा बुझ्दैन ।’ चिरान काठ भूकम्पपीडितलाई दिने कुनै निर्णय नहुँदासमेत व्यवसायीले चिरान काठसमेत झारेकोमा आपत्ति जनाए ।
सरकारले पीडितलाई गोलाइ काठ सहुलियतदरमा उपलब्ध गराउने निर्णय गरेको छ । तर, जिल्ला वन कार्यालयका केही कर्मचारीसँगको मिलोमतोमा काठ ढुवानीको जिम्मा लिएको त्रिपुरा कम्पनीका सञ्चालक प्रो. कृष्ण केसीले चिरान मिल नै स्थापना गरेका छन् । मन्थली नगरपालिका–१ सुकजोर खोलामा केसीले अवैध काठ चिरान मिल स्थापना गरेका हुन् । भूकम्पपीडितको नाममा आएको काठ अवैध ढंगले चिरान गरी उनले लाखौँ रुपैयाँ असुल्ने तयारी गरेका मन्थली–१ का वडासदस्य रामहरि पौडेलले बताए ।
वननजिकै चिरान मिल स्थापना
वननजिकै काठ चिरान मिल स्थापना गर्न पाइँदैन । तर, ठेकेदार केसीले मन्थली नगरपालिका–१ मा स्थापना गरेको काठ मिल भ्यागुरे पडेरे सामुदायिक वनसँगै जोडिएको छ । वननजिकै काठ मिल सञ्चालन गर्न नपाइने नियमको केसीले उल्लंघन गरेका भ्यागुरे पडेरे सामुदायिक वनका अध्यक्ष अनन्त थापाले बताए । उनले मिल स्थापना गर्न वन समूहसँग कुनै अनुमति नदिएको स्पष्ट पारे । रामेछापको जिल्ला वन अधिकृत रामविचारी ठाकुरले पनि वननजिकै चिरान मिल स्थापना गर्नु अवैध भएको बताए । उनले वनछेउमा चिरान मिल स्थापना भएको विषयमा कतैबाट लिखित उजुरी नआएकाले कारबाही गर्न नसकिएको दाबी गरे ।
रिपोर्टिङमा पुगेका पत्रकारलाई धम्की
अवैध रूपमा चिरान मिल स्थापना भएको सुकाजोर खोलामा रिपोर्टिङका लागि पत्रकार पुग्दा चिरान मिलमा कार्यरत केही कर्मचारीले पत्रकारलाई धम्क्याएका छन् । उनीहरूले फोटो नखिच्न धम्की दिँदै सञ्चारकर्मीलाई अभद्र व्यवहारसमेत गरे ।
उनीहरूले पत्रकारलाई ‘तिमीहरूलाई मिलको विषयमा के मतलब ? हामीले सम्बन्धित निकायबाट अनुमति लिएर मिल राखेका हौँ ?’ भन्दै धम्क्याएका थिए ।
भूकम्पपीडितलाई वितरण गर्न लागिएको गोलिया काठ खोक्रो पाइएको छ । कमिसनको खेलमा सस्तो दररेटमा ठेकेदारले कमसल काठ जिल्ला भित्र्याएका हुन् । (नयाँ पत्रिका)





