श्रीमान् मार्न खोज्ने प्रियंका चौरसियासहित ६ जना जेल चलान



आफ्नै श्रीमान्लाई मार्नका लागि गोली हान्न लगाउने पर्साको बिन्दवासिनी गाउँपालिका–३ की प्रियंका चौरसियासहित विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ६ जना जेल चलान भएका छन् ।

बिन्दवासिनी–३ झौवागुठी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ बस्ने प्रियंकाले अन्य व्यक्तिसँग मिलेर आफ्नै ३५ वर्षीय पति उमेश चौरसियाको हत्या प्रयास गरेकी प्रहरीले जनाएको छ । प्रियंकाले बाराको परवानीपुर–१ बस्ने विकेन्द्रकुमार गुप्ता र मनोज गुप्ता तथा वीरगन्ज–१२ मुर्ली बस्ने मुन्ना साहसँग मिलेर आफ्नै पतिको हत्या प्रयास गरेकी थिइन् ।

उनीहरू चारैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रियंकाले आफ्नो प्रेमी विकेन्द्रसँग मिलेर गत फागुन १६ गते राति आफ्नै श्रीमान्लाई गोली हान्न लगाएकी थिइन् । गोली लागेर गम्भीर घाइते भएका चौरसियालाई काठमाडौं लगेर उपचार गरिएको थियो ।

वीरगन्ज–१४ बस्ने कविता वाग्लेलाई पनि प्रहरीले ठगी मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको छ । स्थानीय ३६ गोमा सुब्बालगायतले दिएको उजुरीका आधारमा उनलाई जेल चलान गरिएको छ । वाग्लेले २०–२५ जना सोझासाझा व्यक्तिलाई विभिन्न प्रलोभनमा पारी लाखौँ रकम सापटी लिएकी थिइन् । उनले ४० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

त्यसैगरी पर्सा प्रहरीले वीरगन्ज ३२ परसवा बस्ने २२ वर्षीय विकास पञ्जियारलाई जबरजस्ती करणी अभियोगमा कारागार चलान गरेको छ । पञ्जियारले गाउँकै ३० वर्षीया महिलालाई गत फागुन १८ गते जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्