
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमा राष्ट्रिय अर्थतन्त्रको यथार्थ तस्बिर सार्वजनिक गरिएको भन्दै अनावश्यक टिकाटिप्पणीको अर्थ नहुने बताएका छन् । नकारात्मक दृष्टिकोणबाट श्वेतपत्र सार्वजनिक गरिएको भन्दै केही अर्थशास्त्री र सांसदहरूले आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले वास्तविकतामा आधारित हुन सुझाव दिएका छन् । ‘सत्य तीतो हुन्छ, तर सत्य सत्य नै हो’, प्रतिनिधिसभामा मंगलबार अर्थमन्त्री खतिवडाले भने,‘श्वेतपत्रमा सत्य कुरा राख्न खोजिएको छ ।’ विना कुनै आग्रह श्वेतपत्र ल्याइएको भन्दै मन्त्री खतिवडाले निरपेक्ष खुलापनतर्फ सचेत हुनुपर्ने बताएका छन् ।
‘अर्थतन्त्रका सम्पूर्ण संरचना ध्वस्त भए भन्ने होइन’,उनले भने,‘संरचनागत कमजोरी छन् र तिनीहरूलाई सच्याउँदै लैजानुपर्छ ।’ त्यसअघि प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदले श्वेतपत्रले नकारात्मक सन्देश दिएको भन्दै जनतामा निराशा छाएको धारणा राखेका थिए । ‘अर्थतन्त्रमा अदृश्य दायित्व धेरै छन,’ मन्त्री खतिवडाले भने,‘कुनै पार्टीप्रति श्वेतपत्रमा केही उल्लेख छैन ।
कालखण्डको यथार्थ समीक्षा गरिएको हो ।’ राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने,‘निरपेक्ष खुलापनतर्फ सचेत हुनैपर्छ । संसद् बाहिरबाट समाधान खोजे विवाद हुन्छ ।’ स्वास्थ्य उपचार, सामाजिक भत्ता वृद्धि जस्ता विषयमा संसदले नै निर्णय लिनुपर्ने उनले बताए । मीनेन्द्र रिजाल, पम्फा भुसाल, अनिल झालगायत सांसदले श्वेतपत्रले देश असफल बाटोमा हिँड्न लागेको संकेत गरेको भन्दै नाकात्मक दृष्टिकोणले श्वेतपत्र आएको भनी असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री केपी ओलीले पनि श्वेतपत्रको बचाउ गर्दै यथार्थपरक हुन आग्रह गरे । ‘श्वेतपत्र निराशापत्र होइन, यथार्थपत्र हो,’संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने,‘कुनै आग्रह÷पूर्वाग्रह, झुटा आँकडा प्रस्तुत गरिएका छैनन् ।’ अर्थतन्त्र नकारात्मक भए पनि विकास गर्न सकिने ओलीले दाबी गरे । ‘अबका श्वेतपत्रले त्यो नाजुकस्थिति देखाउनुपर्ने स्थिति रहँदैन,’ ओलीले भने । (अन्नपुर्ण पोस्ट)





