सामाजिक सञ्जालका कठपुतली



हामीलार्ई समाजले बनाएको दायरा मन परेन, बदल्यौं। नियमका पर्खालले छेकेजस्तो लाग्यो, भत्कायौं। समाजको फिक्री छोडेर निष्फिक्री जिउन त सिक्यौं तर सञ्जालको जालमा जेलिँदै गयौं। आफूले सोचेको, खाएको, लगाएको पनि हामीलार्ई जँचाउनु पर्छ। न्यायाधीश झैं विराजमान सञ्जाल समूहले त्यसमा टिप्पणी गर्छ। आजभोलि हामी कि औधि खुसी हुन्छौं कि औधि दुःखी। तर, त्यो तराजुमा जोखिन छोड्दैनौं।

म पनि त उस्तै हुँ। मैले मेरा क्रियाकलापको साक्षी बन्न र त्यसमा लालमोहर लगाइदिन सबैलार्ई आमन्त्रण गरिरहेकी छु। फेसबुक, ट्विटर र इन्स्टाग्रामका फलोअर हामीलार्ई सम्पत्तिजस्तै लाग्छ आजभोलि।

कहिलेकाहीं यो पनि सोच्छु कि मैले सामाजिक सञ्जाल चलाइरहेकी छु या सञ्जालले मलार्ई। अरू प्रयोगकर्ताप्रति मेरो गुनासो होइन, आफैंमाथि उठेको सन्देह हो यो। किनकि यस्ता सञ्जालको अत्यधिक प्रयोग गर्नेमा म पनि पर्छु। यस्ता सञ्जालले आँखाबाट दिमाग हुँदै मनसम्म कसरी आक्रमण गर्छ र कुन बेला पराजित मन लिएर विक्षिप्त हुनुपर्छ, प्रयोग गर्नेलार्ई थाहा हुन्छ। विक्षिप्तसमेत बनाउने यस्ता सञ्जालको मनोवैज्ञानिक उपचार हाम्रा हजारौं फलोअर र ‘लुकिङ हट’ भन्दै प्रतिक्रिया जनाउने ‘शुभेच्छुक’ ले गरिदिन सक्दैनन्। रोगी बन्न तयार हुनेले नै उपचारको विधिसमेत जान्नुपर्ने यसको मनोवैज्ञानिक पक्ष विकराल छ।

सामाजिक सञ्जाल तपार्ईंहाम्रो ऐना भएको छ। तर यो ऐनाको प्रतिबिम्ब अरूले पनि हेर्न सक्छन्। अनि यसमा एउटा तप्का पूरै राडारको प्रयोग गर्छ र तपाईंलाई कति नम्बर दिने भनेर निर्णय गर्छ। आफ्नै विचार पनि आजभोलि अरूले भेरिफाई गरिदिनुपर्छ। कहिलेकाहीं त तपाईंले के सोच्नुपथ्र्यो भनेरसमेत त्यही समूहले भनिदिन्छ। अरे वाह, बताइरहनु नपर्ला आजभोलि नजिकका टाढा हुन थाले, टाढाका नजिक। वास्तविक दुनियाँ भर्चुअल बन्दैछ। भर्चुअल दुनियाँ वास्तविकतामा परिणत हुँदैछ। निकटका मनोभावको खासै हेक्का हुन छोडेको छ, तर सात समुद्रपारका मित्रको मनोभाव बुझ्न हतार छ हामीलाई। यो भुलभुलैयाले एउटा अलौकिक र अवास्तविक दुनियाँ खडा गरिदिएको छ, जसको सदस्य बन्न आज हामी सबै भोका छौँ।

सामाजिक सञ्जाल आजको दिनमा एउटा हतियार हो, शक्ति हो र फोरम हो। एक्लोपन भुलाउने साथी। तर गलत प्रयोग भए मनोरोगको कारण पनि। यो एउटा भच्र्युल मञ्च पनि बन्दैछ, जहाँ मानिसहरू ‘लार्जर देन लाइफ’ बाँचिरहेको मात्र देखिन्छ, जहाँ हरेक चिज ‘पर्फेक्ट’ मात्र देखाइन्छ। ‘फ्ललेस’ अर्थात् खोटरहित आफैंमा असम्भव हो, किनकि संसारमा खोटरहित केही छैन।

तर आजभोलि जीवनका अनेकौं रंगहरूको पूरा रूप देख्न पाइँदैन वा हामी हेर्ने चेष्टा नै गर्दैैनौं। मात्र त्यो देखिन्छ, जो रंगीन र झिलिमिली छ। मात्र त्यो देखाइन्छ, जो सुन्दर छ, आकर्षक छ। मानिसका वास्तविक जीवन नियालेर हेर्ने फुर्सद कमैलाई छ। त्यसैले त देखाउनेले जे देखाउन चाह्यो, त्यसैलाई ‘आइडियोलाइज’ गर्दैछौं हामी। अनि सुरु हुन्छ ग्लानि, अरूका जति आकर्षक र रंगीन जीवन किन भएन मेरो ?

दुनियाँ जे देख्न चाहन्छ, मात्र त्यो देखाइने सामग्रीसँगको तुलनाले जीवन अपूरो र रंगहीन बनेको झूटो भारीले हामीलाई थिच्दै छ। हामी आजभोलि पलहरू बाँच्दैनौं, मात्र पलहरूलाई कैद गर्न व्यग्र हुन्छौं। हिमालको सौन्दर्य, चराको चिरबिर, नदीको कलकल, बालकको उनमुक्त हाँसो, हरिया फाँट अब अनुभूत गर्ने विषय रहेन। तपाईंले त्यसलाई कसरी कैद गर्नुभयो, त्यो महत्वपूर्ण बन्दैछ। जीवनका सुन्दर पल बाँच्ने होइन, देखाउने विषय बन्दै गएको छ। मात्र एक लाइकका लागि।

युवाहरूले ‘आइडियोलाइज’ गर्ने सेलेब्रेटीहरूका हाउभाउले त्यस्तै बन्न उक्साइरहेको छ र यसको सही प्रयोग नभए यो रोग बन्न सक्छ। समारोहअनुसारका पहिरन, ठूला रिसोर्टमा भ्याकेसन, हरेक चाडहरूको पर्फेक्ट सेल्फी, हरेक दिन ‘पर्फेक्ट’ यी तमाम कुरा आम मानिसका लागि हासिल गर्न नसकिने लक्ष्य हुन् अर्थात् अनएटेनेबल गोल। यो बुझ्न युवाहरू अस्वीकार गरिरहेका छन्। यी आम मानिसले हासिल गर्न असम्भव छ किनकि ती सेलेब्रेटीलाई त्यसरी तयार पार्न एउटा फौज लागिपरेको हुन्छ। त्यो सत्यलाई आत्मसात् नगरी त्यस्तै हुन खोज्नु फगत मृगतृष्णा हो। विकसित देशहरूले यो भयलार्ई बुझेर काउन्सिलिङ थालिसकेका छन्। नेपालमा पनि यसको नकारात्मक प्रभाव ढिलोचाँडो जरुर पर्छ, जसरी पाइपमा पानीभन्दा तारमा इन्टरनेटका छिटो पुग्छन् आजभोलि।

हालै मात्र आफ्नो पहिरन, मेकअपलगायत विषयमा चासो राख्ने र आफू त्यस्तो हुन नसकेको हीनताबोध गर्ने किशोरीहरूलार्ई ध्यान दिएर बलिउड अभिनेत्री सोनम कपुरले एउटा लामो पोस्ट गरिन् फेसबुकमा। उनले शृंगार गर्न लागेको फोटो राख्दै लेखिन्, ‘जो हरेक दिन ऐना हेरेर म किन फलानो हिरोइनजस्तो राम्री हुन सक्दिनँ भनेर ग्लानिमा पिल्सिन्छन्। उनीहरूले के बुझ्न जरुरी छ भने हरेक दिन जसरी तपार्ईं मलार्ई पर्दामा वा सार्वजनिक कार्यक्रममा देख्नुहुन्छ, म वास्तविक जीवनमा त्यस्तो छैन। बिहान उठ्नेबित्तिकै कोही त्यति सुन्दर र आकर्षक भएर उठ्दैन।’

अहिल्यै सामाजिक सञ्जालको उभारले पूरै मानिसका चरित्र निर्धारण गर्ने पुस्ता तयार भइसकेको छैन। तर एउटा अर्को पुस्तालार्ई बेलैमा सचेत गराउन सकिएन भने त्यो घातक हुन सक्छ, जो यही उभारमा मानसिक र शारीरिक रूपमा हुर्कंदै छन्।

सो पोस्टमार्फत उनले कुनै पनि सामाजिक समारोह वा कार्यक्रममा जानुअघि हरेक दिन ९० मिनेट शृंगारको कुर्सीमा बस्ने गरेको खुलाएकी छन्।

उनी लेख्छिन्, ‘संसारका महँगा र अति व्यावसायिक मानिसहरूले मेरा नङ, आँखीभौंलगायत शरीरका हरेक भागमा आफ्नो कौशलत प्रयोग गरेर निखार ल्याउने प्रयास गर्छन्। म जे देखिन्छु, जस्तो देखिन्छु, त्यसका लागि अत्यधिक पैसा, समय र ऊर्जा खर्च हुन्छ। तपाईंले अनुमान नै गर्न नसक्ने शरीरका मेरा अनेक भागमा मेकअप प्रयोग गरिन्छ। के खाने, के लगाउने, कति व्यायाम गर्ने भन्नेमै मेरो जीवन समर्पित छ। यो सबैका हकमा लागू हुँदैन र त्यो सम्भव पनि छैन।’ उनले खानामा भन्दा फेस प्याकमा धेरै खानेकुरा हुने उल्लेख गरेकी छन्। त्यतिले नपुगेर आफ्ना फोटोलार्ई कयौं एप्सले सुन्दरता भरेपछि मात्र सार्वजनिक गर्ने गरेको रहस्य उनले लुकाएकी छैनन्।

एउटा हिरोइन जो सारा दुनियाँको ‘फेन्टेसी’ मा बाँचेकी हुन्छिन्, उनले आफ्ना सुन्दरताको राज यो हदसम्मको प्रयत्नबाट प्राप्त भएको खुलाउनु भनेको ‘त्यस्तै’ नबन्न दिएको संकेत पनि हो। किनकि आम मानिसका लागि हरदम ‘पर्फेक्ट’ देखिनु असम्भवप्रायः हो। सेलिब्रेटीजस्तै देखिने हुटहुटी एउटा डरलाग्दो रोग बन्दैछ र यसका लागि आममानिसको ठूलो ऊर्जा अनावश्यक रूपमा खेर गइरहेको छ।

इन्स्टाग्रामकी स्टार भनेर चिनिने १८ वर्षीया एसने ओ निल, जसका आधा मिलियनभन्दा बढी फलोअर थिए। उनका हरेक सट् ‘पर्फेक्ट’ हुन्थे। १८ वर्षको उमेरमा इन्स्टाग्राममा फोटो अपलोड गरेबापत कस्मेटिकलगायतका कम्पनीले उनलाई प्रत्येकजसो फोटोमा दुई हजार बढी डलर तिर्थे। अस्वाभाविक कमाइसँगै उनको पोस्टमा लाखौंको लाइक मिल्थ्यो।

इन्स्टाग्राममा लोकप्रियता चुलिइरहेकै बेला उनले एकाएक आफ्नो अकाउन्टबाट कैयन् फोटो हटाइन् र भनिन्, ‘मलाई लाग्छ, यी फोटाहरू आफ्नो स्वप्रचारबाहेक यिनका केही उद्देश्य छैन।’ लगत्तै उनले अर्को फोटो राखिन् र लेखिन्, ‘कृपया यो फोटोले धेरै लाइक डिजर्भ गर्छ। किनकि मैले यहाँ धेरै मेकअप गरेकी छु र कपाल पनि घन्टौं लगाएर बनाएकी छु। मैले पहिरिएका भारी गहनाले मलाई थिच्न लागिसके तर पनि म मुस्कुराइरहेकी छु। यो सट् मैले करिब ५० भन्दा बढी सेल्फी लिएपछि अपलोड गरेकी हुँ र यसमा सैयौंपटक फोटोसप पनि गरिएको छ। त्यसैले लाइक गरिदिनु होला।’

यसो भनेर उनले कसरी यस्ता साइटहरूले अत्यधिक कृत्रिम चिजलाई वास्तविक मान्न ठूलो जमातलाई बाध्य बनाएको छ भनेर व्यंग्य गरेकी थिइन्। त्यसपछि ओ निलले एकाएक सोसल साइटबाट बिदा मागिन् किनकि ती सब अस्वाभाविक थियोे, कृत्रिम थियो। अन्ततः हरेकपटक उत्तिकै र उस्तै राम्री देखिनैपर्ने दबाबको अन्त्य गर्दै उनले सामाजिक सञ्जालबाट बिदा लिइन्। लाइक र कमेन्टले मानिसको सफलता जाँच्ने कृत्रिम समाज उनले त्यागिन्। उनी अहिले ब्लग चलाउँछिन्, जहाँ लाइक, कमेन्ट र फलोअरको खेल हुँदैन, मात्र मनका भावना अभिव्यक्त गरिन्छ।

बजारनियन्त्रित मापदण्डमा आफूलाई ढालेर सुन्दर हुने अनावश्यक प्रयत्न खोक्रो र घातक हो भन्ने कुरा यी किशारीले बेलैमा बुझिन्। यसबाट बच्न भनेर संसारभर अभियान सुरु हँदैछ।

हामी पनि अब सजग हुने बेला आइसकेको छ। अहिल्यै सामाजिक सञ्जालको उभारले पूरै मानिसका चरित्र निर्धारण गर्ने पुस्ता तयार भइसकेको छैन। किनकि यस्ता सञ्जालको प्रयोगमा रुमल्लिएका समूहले आफूलाई केही हदसम्म सुरक्षित गरिसकेको छ र उनीहरू स्वविवेक प्रयोग गर्न सक्ने उमेरका पनि भइसकेका छन्। तर एउटा अर्को पुस्तालार्ई बेलैमा सचेत गराउन सकिएन भने त्यो घातक हुन सक्छ, जो यही उभारमा मानसिक र शारीरिक रूपमा हुर्कंदै छन्।

खुसी ‘पर्फेक्सन’ ले मात्र ल्याउँदैन। पूर्वपरिभाषित आँखाले हेर्न छोडे प्रकृतिका सबै रचना सुन्दर र पूर्ण लाग्छन्। आफ्नोपनमा गर्व गरौं। ऊजस्तो त ऊ नै छँदैछ, आफूजस्तै आफू बनौं, त्यस्तो अरू कोही बन्न सक्दैन। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्