
काठमाडौं २१ चैत: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयमा छलफल र सम्झौता नहुने पहिलेकाे विषयलार्इ नै प्राथमिकता दिने बताएका छन् । चितवनमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण दुई देश बीचको मित्रता र सम्बन्ध सुधारमा सीमित हुने बताएका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

अध्यक्ष प्रचण्डले मिडियामा आएजस्तो एमाले–माओवादी पार्टी एकतामा कुनै विवाद नरहेको बताए । एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण पार्टी एकता घोषणामा ढिलाइ भएको उनले बताए ।
बखान सहकारी संग्रहालय बन्ने
नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्थाको नाममा संग्रहालय निर्माण हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रचण्डले मंगलबार संग्रहालय भवनको शिलान्यास गरेका छन् । भवन निर्माणका लागि चार बिघा जग्गा छुट्याइएको छ । अहिले ५ करोड १५ लाखको लागतमा पाँच कठ्ठामा दुईतले भवन बन्ने मोहनसिंह लामाले बताए । भवन निर्माण २ वर्षभित्र सम्पन्न हुनेछ । संग्रहालयमा संस्थापक अध्यक्ष बखानसिंह गुरुङद्वारा लेखिएको तमसुक, ०११ सालमा राप्ती दुन परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएको औजार–उपकरण, ऐतिहासिक पुराना पैसाहरू तथा अन्य बहुमूल्य सामान राखिने अध्यक्ष लामाले जानकारी दिए । संग्रहालयमा देशभरका ३६ हजार सहकारीको पहिचान हुने गरी केही सामग्री पनि राखिनेछ ।





