
काठमाडौं २१ चैत: स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख ७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ ।

गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । यो समाचार नागरिक दैनिकले छापिएको छ ।
कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय गाउँमा भत्काउनका लागि मतो मिलाउने काम भइरहेको छ ।
महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्षसहित निकाल्दै मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्त टोलका महिलाले छाउपडी गोठ भत्काएका छन् ।
बढी स्याहारसुसार चाहिनुपर्ने महिनावारीका बेला गोठमा बस्नुपर्दा ज्यानसमेत गुमाउने र विभिन्न खाले हिंसा सहनु परेकाले गाँउका यस्ता गोठ भत्काएर महिनावारीमा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेवी खत्रीले बताइन् ।





