दक्षिण कोरियाली कलाकारको ‘कन्सर्ट’मा किमले ताली बजाए



काठमाडौं २१ चैत: उत्तर कोरियाका लागि यस साताको आइतबार विशेष थियो । सो दिन उत्तर कोरियाली नेता किम जोङ उन राजधानी प्योङयाङमा आयोजित एक सांगीतिक कन्सर्टमा बडो जोसका साथ ताली बजाएर आफ्नो कलाकर्म प्रस्तुत गरिरहेका कलाकारको उत्साह बढाइरहेका थिए । तर, उनका अगाडि स्वदेशी कलाकार थिएनन् । यी सबै कलाकार सीमापारि दक्षिण कोरियाबाट उत्तर पुगेका थिए। यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

दुवै देशका बदलिँदो सम्बन्धको संकेत गरिरहेको यस कार्यक्रममा उत्तर कोरियाली शासक किम जोङ उन आफ्नी पत्नीका साथ उपस्थित थिए । रिपोर्टहरूका अनुसार किम जोङ उनले दक्षिण कोरियाली पप कलाकारको प्रस्तुतिमा ताली बजाइरहे । र, कार्यक्रम समाप्तिसँगै स्टेजको पछाडि पुगेर कलाकारहरूसित भेटघाट गरे । सो अवसरमा किम जोङले कलाकारसित तस्बिर पनि खिचाए।

विगत एक दशकयता यो नै यस्तो पहिलो अवसर हो कि जब दुवै देशका नेताहरू भेटघाटको तयारी गरिरहेका छन् र सोही अवसरभन्दा अगाडि दक्षिण कोरियाली कलाकारको टोली उत्तर कोरिया पुगेको छ । यो टोलीको प्योङयाङमा दुइटा सांगीतिक कार्यक्रम राखिएका छन्, जसमा ११ भन्दा बढी कलाकारले आआफ्नो प्रस्तुति दिनेछन् ।

यस वर्षको सुरुवातमा सम्पन्न हिउँदे ओलम्पिकमा उत्तर कोरियाले आफ्ना कलाकारलाई दक्षिण कोरिया पठाएको थियो । निकै लामो समयको तनावपछि दुवै देशको सम्बन्धमा नरमपना देख्ने अवसर प्राप्त भएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार प्योङयाङमा आयोजित यस कन्सर्टको नाम ‘स्प्रिङ इज कमिङ’ राखिएको छ । यही आइबार साँझ १५ सय सिट क्षमता भएको इस्ट प्योङयाङ ग्य्रान्ड थिएटरमा यो कन्सर्ट सुरु भएको हो ।

कन्सर्टमा किमको रुचि
दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार किम जोङ उन पहिलो यस्ता उत्तर कोरियाली शासक हुन्, जसले दक्षिण कोरियाली कलाकारको कार्यक्रममा सहभागिता जनाएका छन् । रिपोर्टहरूका अनुसार किमकी बहिनी किम यो जोङ र पत्नी किम योङ नेम पनि यस कार्यक्रम हेर्न पुगेका थिए ।

रोयटर्स न्युज एजेन्सीका अनुसार दक्षिण कोरियाका संस्कृतिमन्त्री दो जोङ ह्वानले पत्रकारहरूलाई बताएअनुसार कार्यक्रमका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले निकै उत्साह र चासो देखाए र गीतका बोलबारे प्रश्न पनि गरे ।

यसअघि उत्तर कोरियाले दक्षिण कोरियाली तेक्वान्दो टोलीको प्रदर्शन पनि अवलोकन गरेको थियो । तर, सो प्रदर्शनमा भने किम जोङ उन उपस्थित थिएनन् । दुवै कोरियाली देशको शिखर वार्ता २७ अप्रिलमा हुने गरी तय भएको छ । यसअघि २००० र २००७ मा पनि दुवै देशबीच शिखर वार्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्