प्रमसँगै को को जाँदै छन् भारत ?



काठमाडौं २१ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरू सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दूतावासका ९ जना अधिकारी सामेल हुनेछन् । प्रधानमन्त्री ओलीले आगामी शुक्रवारदेखि आइतबारसम्म भारतको भ्रमण गर्दै छन् । यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

फाइल तस्बिर

मङ्गलवारको मन्त्रिपरिषदले सरकारी भ्रमण टोलीको टुङ्गो गरेको छ भने निजी क्षेत्रबाट सहभागी हुने सदस्यहरूको नाम सङ्कलन हुने क्रम जारी छ । सरकारी खर्चलाई मितव्ययी बनाउने सन्देश दिन प्रधानमन्त्री ओलीले यसपालि सीमित र आवश्यक पात्रहरूलाई मात्र भ्रमण टोलीमा सामेल गराउने भने पनि टोली ठुलै हुने भएको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि रहने निर्णय गरेको छ ।

यसै गरी भ्रमण टोलीमा सांसदहरू माओवादी केन्द्रका दिनानाथ शर्मा, रामेश्वर राय यादव राष्ट्रिय जनता पार्टीका शरदसिंह भण्डारी, सङ्घीय समाजवादी फोरम पार्टीका विमल श्रीवास्तव पनि रहनेछन् ।

भ्रमण टोलीमा सहभागी हुने मन्त्रीले सम्हालेका मन्त्रालयका सचिवहरू, परराष्ट्र मन्त्रालयको रिजनल अर्गनाइजेसन डिभिजन, भारत डेस्कका अधिकारी पनि रहनेछन् । यसै गरी प्रधानमन्त्रीको भ्रमण टोलीमा उनका राजनीतिक र प्रेस सल्लाहकार पनि सामेल हुनेछन् ।

‘नेपालका प्रधानमन्त्रीको भारत भ्रमण टोली सँधैजसो जम्बो हुँदा आलोचना हुँदै आएको सन्दर्भमा यस पटक सीमित व्यक्तिलाई मात्र सरकारी खर्चमा समावेश गर्न लागिएको हो ।’ भ्रमण दलको संयोजन गरिरहेका प्रधानमन्त्रीका एक जना सहयोगीले भने, ‘गोरखापत्र संस्थानलाई पनि यसपालि आफ्नै खर्चमा संवाददाता पठाउन लगाईदैछ ।’ निजी सञ्चार माध्यमबाट झन्डै तीस जना पत्रकारहरू आफ्नै खर्चमा सामेल हुनेछन् । यसै गरी यस पटक कलाकारहरू राजेश हमाल, दिनेश डिसी पनि सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्