स्वतन्त्र सेनानीका रुपमा रहेका रामप्रसाद राईको योगदानलाई उच्च मुल्यांकन गरिनुपर्छ : राष्ट्रपति भण्डारी



काठमाडाैं, १८ चैत

राष्ट्रिय सभा गृहमा हिजो एक कार्यक्रमकाबीच प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको १०९ औँ जन्मजयन्तीको अवसर पारेर ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा उपस्थित राष्ट्रपति विद्या देवी भण्डारीलाई सम्मानित गरिएको छ ।

राष्ट्रिय सभा गृह प्रदर्सनी मार्गमा रामप्रसाद राई प्रतिष्ठानद्वारा आयोजित उक्त ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’मा  प्रतिष्ठानको पूर्व अध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीलाई प्रतिष्ठानका अध्यक्ष तारा राईले सम्मान गरेकी हुन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रदेश १ का मुख्यमन्त्री सेरधन राई, नेकपा (एमाले)का नेता प्रदीप नेपाल, शिक्षासेवी उमेश श्रेष्ठ, साहित्यकार सचित राईलगायत १२ जनालाई सम्मान गरिन् । साथै राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्टहुन सफल ऐश्वर्य श्रेष्ठ प्रथम, सीता भट्टराई द्वितीय र बलिराज खम्बु, सागर घिमिरे र धर्मानन्द भट्ट तृतीयलाई पुरस्कार वितरण पनि  गरिन् ।

राजनीतिक परिवर्तनमा योगदान पुर्याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन । विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउने श्रेय राईलाई पनि जाने भन्दै राष्ट्रपति भण्डारीले राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको भएपनि एक स्वतन्त्र सेनानीका रुपमा रहेका राईको योगदानलाई उच्च मुल्यान्कान गर्दै सरकारले विशेष सम्मान दिनुपर्ने धारणा ब्यक्त गरिन् ।

उक्त कार्यक्रममा विशेष अथिति बनेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको पुरानो नेपालको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको तर अबको नयाँ नेपालको  सरकारले पक्कै पनि चिन्ने कुरा बताए । प्रदेश नं १ का मुख्यमन्त्रीको हैसियतमा म यो भन्छु कि अब उहालाई हामि चिन्छौ र केपी ओली नेतृत्वको सरकारले पनि चिन्छ ।उहाले विसं २००७ मा पुर्याएको योगदानका आधारमा राज्यले सम्मान समेत गर्छ  मुख्यमन्त्री राईले बताए । नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको कुरा पनि जानकारी गराए ।

उक्त कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विसं २००७ को परिवर्तन ल्याउनका लागि रामप्रसाद राईले पूर्वबाट महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । एक फरक प्रसंगमा श्रेष्ठले राष्ट्रपति र मुख्यमन्त्री जन्माउन सकेको भोजपुरले बिकासको फड्को मार्न नसकेकोमा आफु चिन्तित भएको समेत बताए ।

भोजपुर जिल्लामा विसं १९६५ फागुन ८ गते जन्मिएका रामप्रसाद राई विसं २००८ सालमा बेपत्ता भएका थिए । विभिन्न अध्ययनले उनको राज्यपक्षबाट हत्या भएको देखाएको छ तर अझै कुनै प्रमाण भने फेलापरेको छैन ।

प्रतिक्रिया दिनुहोस्