धर्म/संस्कृति परिवर्तन विरुद्ध हिन्दु र बौद्ध धर्मावलम्वीहरु एक हुनुपर्छ : बौद्ध धर्मगुरु पासाङ तेम्बा लामा (भिडियो सहित)



१७ चैत २०७४ काठमाडौँ ।

बाल्यकाल

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न १ मा जन्मेका ५७ बर्षीय पासाङ तेम्बा लामा बौद्ध धर्मका अग्रिणी भिक्षु हुन् ।

बुवा कामीसिंह लामा र आमा छिरिङ याङ्जिङ लामाका एक्ला छोरा पासाङले ६ वर्षको  उमेरमा जन्मदिने आमा गुमाएका थिए । त्यसपछि बुवाले कान्छी विबाह गरे । सानिमाको आगमनले बुवासँगको बसाई सहज नभएपछि उनी १६ वर्षको उमेरसम्म मावली हजुरआमासँग बसे ।

आमाभन्दा बढी माया गर्ने हजुरआमाको देहान्तपछि बुवा र सानिआमासँगै  मजदुरी गर्न उनी भारत गए ।  शारीरिक रुपमा कमजोर रहेका लामा ५ वर्षे बसाईपछि पारिवारिक हेपाई सहन नसकेर २०३८ सालमा फेरि आफ्नै गाउँ फर्किए ।

गाउँमा दुई बर्ष विताएका उनलाई त्यहाँको बसाई पनि सहज भएन । त्यसपछि काठमाडौंमा चिनियाँ लामाको घरमा घरेलु श्रमिकको रुपमा उनले ४ वर्ष विताए ।

भिक्षु जीवनको यात्रा

उनलाई २५ वर्षको उमेर पूरा गरेपछि गृहस्ती जीवन जिउने कि भिक्षु जीवन भन्नेमा द्विविधा भयो । उनले आफूलाई भिक्षु बनाउने निर्णय गरे ।  अन्य लामाको साथमा भारतको सिक्किममा अवस्थित रुम्तेक कर्मपा गुम्बामा ४ वर्ष अध्ययन गरेपछि आफ्नै गाउँका भिक्षु योगी गुरु गोम्छेन् लामा देछिन् दोर्जेसँग शिक्षा लिए । त्यसपछि छोक्डोल डाँडामा रहेको नेदुन वसल लिंग गुम्बामा ६ वर्ष गुफामा बसेर आफूलाई बौद्ध ज्ञानमा पारंगत गराएर आफ्नै गाउँ फर्के ।

भिक्षु भएर शिक्षा क्षेत्रमा योगदान

गाउँमा रहेका धनी ब्यक्तिले आफ्ना सन्तानलाई शहरमा पढाउँथे । गरिवका छोराछोरी भने पढ्न नपाउने । यस्तो अवस्था देखेर पासाङले गाउँकै पूर्णबहादुर गौतमसँग मिलेर मेलम्ची घ्याङ प्रावि स्कूललाई सुधार्ने योजना बनाए ।

शुरुको अवस्थामा सो विद्यालयमा आफ्नै भवन थिएन ।  गाउँलेका आँगन तथा गुम्बामा उक्त विद्यालयको पठनपाठन हुन्थ्यो । उनको प्रयासमा उक्त विद्यालयको आफ्नै भवनमा संचालन भइरहेको छ । अहिले त्यो प्राथमिक विद्यालयमा माध्यमिक तहको पठनपाठन संचालन भइरहेको छ । उनको योगदानको अभिभावकहरुले समेत कदर गरेका छन् । उनी २०५७ सालदेखि निरन्तर व्यबस्थापन समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भइरहेका छन् । लामाले विद्यालयको भौतिक पूर्वाधार र शिक्षाको गुणस्तरमा समेत निकै ध्यान दिएका छन् । आफ्नो लगाव र शिक्षकहरुको लगनशीलताले उनको विद्यालय २०६१ सालदेखि अहिलेसम्म जिल्लाको उत्कृष्ट सामुदायिक माविको रुपमा पुरस्कृत भैरहेको छ ।

२०५९ सालदेखि काठमाडौंको बौद्धमा संचालित बुद्ध दर्शनमा आधारित बौद्ध शान्ति विद्यालयको प्रधानाध्यापक रहेका लामाले सो विद्यालयबाट ६ हजारभन्दा बढी बालबालिका, गृहणी तथा प्रौढहरुलाई शिक्षा दिईरहेका छन् । लुम्बिनी विश्वविद्यालयको माननीय सदस्यको रुपमा चार वर्ष काम गरिसकेका लामा अहिले सामाजिक तथा धार्मिक अभियन्ताका रुपमा परिचित छन् ।

बौद्ध र हिन्दू धर्मका अनुयायीहरु मिल्नुपर्छ

ग्रामिण भेगका सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने मुख्य योजना बनाएर लागि परेका लामा शिक्षामा बौद्ध दर्शनलाई पनि जोड्नु पर्ने धारणा राख्छन् ।

हालैको समयमा भैरहेको धर्मको राजनीतिकरणप्रति लामालाई चित्त बुझेको छैन । उनी हिन्दू र बौद्ध धर्मलाई एकै साथ लैजानु पर्नेमा जोड दिन्छन् ।

गरिव नेपालीहरुलाई पैसाको प्रलोभन देखाएर गरिएको धर्म परिवर्तनप्रति लामाको चित्त दुखाई छ । धर्मलाई धर्मकै रुपमा लिनुपर्नेमा राजनीतिकरण गरिएको उनलाई मन परेको छैन ।  मान्छेलाई बजारको बस्तु जस्तै किनबेच गरी गरिएको धर्म तथा संस्कृतिको परिवर्तनप्रति सरकारी निकायले निगरानी बढाउनु पर्नेमा लामाको जोड छ ।

‘मानिसहरुको ईच्छाविपरित आर्थिक प्रलोभनमा पारेर धर्मका नाममा भएको संस्कृतिको बेचविखनलाई मानव बेचविखनको रुपमा किन नहेरिएको हो ?’ लामाको प्रश्न छ ।  ‘यदि हाम्रो धर्म र संस्कृति राम्रो थिएन भने  शिक्षित, विकसित समाजमा रहेका पश्चिमा देशका नागरिकहरु किन आज बौद्ध र हिन्दू धर्मलाई धारण गरिरहेका छन् ? यो कुरा हाम्रा नेपालीले किन नबुझेको ?’ उनको प्रश्न छ ।

गाई मात्र होईन, कुनै पनि जीव हत्या गर्नु हुन्न भन्ने उनको मान्यता छ। सडकदेखि संसदसम्म गाईको नाममा भैरहेको राजनीतिमा डलरको गन्ध आएको उनको आरोप छ । ‘हामीले बौद्ध र हिन्दू भनेर विवाद गर्दै रहने हो भने हाम्रो संस्कृतिसमेत लोप हुन सक्छ । सबै नेपालीले बुझ्नुपर्छ कि हामी हिन्दू र बौद्धधर्मालम्बीहरु एकै परिवारका सन्तान हौ । हाम्रो धर्म र संस्कृतिको रक्षा गर्न हामी मिलेर अगाडि बढ्नु सबैको हितमा छ’, उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्