‘आइजीपी’ बन्नमा होट, कसको सम्भावना कति ?



काठमाडौं: आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।

फाइल तस्बिर

भावी महानिरीक्षक ‘आईजीपी’का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भए पनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्को लबिङमा छन् । विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् ।

अर्द्धसैनिक संगठन सशस्त्र प्रहरीको १७ वर्षे इतिहासमा आईजीपी बनाउँदा अहिलेसम्म पनि सरकारले नेपाली सेनामा झैं वरिष्ठतालाई नमिचेकाले एआईजी खनाल नै एक्ला दाबेदार हुन् ।

सशस्त्र प्रहरीमा हाल फाजिलसहित ११ जना एआईजी छन् । जसमध्ये आईजीपी श्रेष्ठका ब्याची प्रेमकुमार शाही र प्रकाश ओझा उनीसँगै २९ चैतमा अनिवार्य अवकाशमा जाने भएकाले बिदा बसिसकेका छन् ।

वरिष्ठ दुई एआईजी शाही र ओझा बिदामा बसेकाले अहिले खनाल नै एक नम्बरका एआईजी हुन् । खनाललाई केपी शर्मा ओली नेतृत्वको एमाले र माओवादी सरकारले २ असार २०७३ मा एआईजीमा बढुवा गरेको थियो । ओली नेतृत्वको सरकारले कार्यदक्षता, सक्षमता तथा मातहतलाई परिचालन गर्ने क्षमतालगायत मूल्यांकन गरी खनाललाई पहिलो नम्बरमा बढुवा गरेको थियो । त्यसबेला खनालसँगै जितबहादुर पुन पनि एआईजी बनेका थिए ।

ओली सरकारको यो निर्णयविरुद्ध केसी र तत्कालीन डीआईजी उत्तम खड्काले लोकसेवा आयोगमा उजुरी दिएका थिए । तर, लोकसेवा आयोगले ओली सरकारको निर्णय ठीक भएको भनेपछि डीआईजी खड्काले सर्र्वोच्च अदालतलाई गुहारेका थिए । सर्वोच्च अदालतले समेत खनालको बढुवा गर्ने तत्कालीन सरकारको निर्णय सही रहेको ठहर गरेको थियो ।

खनालसँगै एआईजी बनेका पुनले ३ फागुन २०७३ मा अवकाश पाइसकेकाले खनाललाई आईजीपी बन्न सहज ढंगले बाटो खुलेको हो । खड्काले भने डीआईजीबाटै अवकाश पाइसकेका छन् ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ मा सशस्त्र प्रहरी महानिरीक्षक बढुवाबारे भनिएको छ, ‘सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्नेछ ।’

यसै नियमले कार्यकुशलताको परिभाषा गर्दै भनेको छ, ‘कार्यकुशलता भन्नाले नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफूभन्दा मुनिको सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई सम्झनुपर्छ ।’
खनाल एआईजी भएको करिब ११ महिनापछि २१ वैशाख २०७४ मा पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल एआईजीमा बढुवा भएका थिए । उनीहरू एआईजीमा बढुवा भएको अहिले १० महिना मात्रै भएको छ । उनीहरूसँग एआईजीको एक वर्षे कार्यकालको अनुभव छैन ।

केसी डीआईजीमा खनाल र थापापछि तेस्रो वरीयतामा बढुवा भए पनि तत्कालीन माओवादी र कांग्रेस पार्टीको संयुक्त सरकारलाई खुसी पार्दै थापालाई उछिन्दै एक नम्बरमा एआईजीमा बढुवा हुन सफल भएका थिए । एआईजी बढुवामा शक्तिकेन्द्रको प्रयोग गर्दै आफूलाई पछि पारेको भन्दै थापाले निकटस्थमाझ केसीविरुद्ध असन्तुष्टिसमेत पोखेका थिए । केसीले आफू एक नम्बरमा बढुवा हुन आफ्नो बारेमा बूढानीलकण्ठमा गलत अफवाह फैलाएको भन्दै थापाले चित्तसमेत दुखाएका थिए ।

खनाल एआईजीमा बढुुवा भएदेखि हालसम्म सशस्त्रको तालिम हेर्ने मानवस्रोत विकास विभाग ९एचआरडी० मा कार्यरत छन् । केसी कार्यविभाग, थापा महानगरीय कार्यालय र पौडेल सशस्त्रको एकेडेमीमा प्रमुख छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्