कुटनीतिज्ञलाई प्रधानमन्त्रीले भने: हस्तक्षेप स्विकार्दैनौँ, नेपालीलाई फुटाउने कोशिश नगर्नू



काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्क्षेप नस्वीकार्ने कुरा फेरि दोहोर्‍याएका छन् । नेपालस्थित २५ भन्दा धेरै देशका राजदूत र कुटनीतिक अधिकारीहरुलाई सरकारी निवास बालुवाटारमा सम्बोधन गर्दै नेपाली जनता सधैँ स्वतन्त्र रहेको बताउँदै कसैको पनि हस्तक्षेप नस्वीकार्ने बताएका हुन् ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनसहितको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा ओलीले वाम सरकारका प्राथमिकता र नेपालको परराष्ट्र नीतिबारे करिब २५ देशका कुटनीतिज्ञलाई जानकारी गराएका हुन्।

राष्ट्रियता पहिलो एजेन्डा

प्रधानमन्त्री ओलीले नेपालको पहिलो प्राथमिकतामा राष्ट्रियता नै रहेको उल्लेख गरे । ‘हाम्रो पहिलो प्राथमिकता राष्ट्रियता नै हो’, उनले भने, ‘हाम्रो सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वतन्त्रता हाम्रा चासोका प्रमुख विषय हुन् ।’

नेपाल कहिल्यै पनि कसैको उपनिवेश र अधिनस्थ नरहेको पनि जिकिर गरे । ‘नेपाल कहिल्यै पनि कुनै शक्तिको अधिनस्थ भएन, यो कुरा तपाईँहरुले पनि बुझ्नु भएको छ’, ओलीले लिखित मन्तब्य दिँदै भने, ‘नेपाली जनता सधैँ स्वतन्त्र छन् । कुनै पनि नाममा विदेशी हस्तक्षेप स्वीकार्य छैन ।’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेपालले कुनै पनि हालतमा अस्थिरतालाई स्थान नदिने बताउँदै आफ्नो निर्णयका लागि नेपाल र नेपाली जनता सक्षम रहेको कुरा पनि कुटनीतिज्ञलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपाली जनता लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धीलाई जोगाउन सक्षम रहेको बताउँदै विश्व समुदायसँग सहकार्यका लागि आफूहरु तत्पर रहेको पनि प्रष्ट पारे ।

‘नेपालको परराष्ट्र नीति पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्रसंघीय बडापत्र, अन्तराष्ट्रिय कानुन र विश्वशान्तिका मूल्य मान्यतामा आधारित हुन्छ’, उनले भने, ‘नेपालले अन्तराष्ट्रिय सम्बन्ध, सार्वभौमिकता, एकअर्काको सम्मान र फाइदालाई विचार गर्दै अघि बढ्छ ।’

सद्भाव विगार्न खोजियो

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा जातीयताको मु्द्दा उठाएर नेपालमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको पनि गुनासो गरे ।

युरोपियन युनियनसहितका कुटनीतिक अधिकारीसमेत उपस्थित कार्यक्रममा उनले भने, ‘केहीले नेपालमा सामाजिक सद्भावमा खलबल्याउने कोशिश गरेका छन्’, प्रमले भने, ‘कसैले पनि एजेन्डामा नेपाली जनतालाई दुरुपयोग गर्ने कोशिश नगरुन् । यदि त्यस्तो कोशिश हुन्छ भने हामी सबै शक्ति र स्रोतका साथ विभाजन ल्याउन खोज्ने तत्वलाई हराउन तयार छौँ ।’

चीन-भारतसँग सुमधुर सम्बन्ध

छिमेकी मुलुकका जायज चासोबारे सरकार गम्भीर रहेको बताउँदै ओलीले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने नेपालको अडानलाई दोहोर्‍याए ।

छिमेकी दुई ठुला मुलुकसहित नेपालको विकासका साझेदार विश्वका सबै मुलुकसँगको सम्बन्धलाई अझै मजबुत बनाउने प्रयास आफूले थालिसेको ओलीले बताए । ‘भारत र चीन हाम्रा निकट छिमेकी हुन् । दुवै देशसँग सुमधुर सम्बन्ध छ । पारस्परिक विश्वासका कारण हाम्रो सम्बन्ध बलियो भएको हो । छिमेकीसँगको सम्बन्ध अझै राम्रो बनाउने प्रयास गर्छौँ ।’

विकासको सवाल

समावेशी शासन व्यवस्था संविधानको मर्म भएको बताउँदै प्रमले त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । ‘समानतामा आधारित सामाजिक न्यायबिना दीगो शान्ति र समृद्धिको कल्पनासमेत गर्न सकिँदैन’, उनले भने, ‘विविधतायुक्त हाम्रो समाजको सामर्थ्यको स्रोत र पहिचान पनि सामाजिक विविधता हुन् ।’

नेपालको विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोग र समर्थनप्रति उनले खुसी व्यक्त गरे । ‘नेपालको विकासका प्राथमिकता र नेतृत्वको सम्मानका साथ सरकारी संयन्त्रलाई साथमा लिएर सघाउनुस्’, कुटनीतिज्ञलाई उनले भने, ‘कानुनी शासनलाई प्रभावकारीरुपमा पालना गराउँछौँ । भ्रष्टाचारप्रति शून्य सहनशील नीति अपनाउँछौँ ।’

ठुलो मूल्य चुकायौँ

करिब एक घण्टा लामो सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालले मौलिकरुपमा शान्ति प्रक्रियालाई टुंग्याएको पनि दाबी गरे । ‘नेपालले यो उपलब्धि प्राप्त गर्ने क्रममा ठुलो मूल्य चुकाएको छ’, उनले भने, ‘यसमा हाम्रा मित्रहरु खुसी हुनुपर्छ ।’

नेपालको हित चाहने र समृद्धिको बाटोमा हिँड्न साथ दिने मित्रहरुले नेपाली जनताको यति ठुलो ऐतिहासिक उपलब्धिमा खुसियाली मनाउनुपर्ने पनि ओलीले जिकिर गरे ।

समय खेर फाल्दैनौँ

नेपालले तीब्र विकासको गति प्रकिसकेको बताउँदै प्रम ओलीले अब समय खेर फाल्ने छुन नभएको पनि कुटनीतिज्ञलाई बताए । ‘नेपाल अब शान्ति, विकास र स्थिरताको बाटोमा हिँडिसकेको छ’, ओलीले भने, ‘अबका हरेक पलको सदुपयोग गर्छौँ । समय खेर फाल्ने छुट हामीलाई छँदै छैन ।’

प्रम ओलीले अहिलेको यति ठुलो अवसरलाई चुकाएर असफल हुने सुविधा नेपाललाई नरहेको पनि उल्लेख गरे । ‘हामीलाई समृद्धितर्फ नबढी अर्को कुनै विकल्प छैन । यदि यो मौका चुकायौँ भने हामीलाई माफीको पनि छुट हुने छैन । हामीसँग विकल्प एउटै छ- त्यो हो कुनै हालतमा सफल हुने । त्यसैका लागि हामी नेपाललाई समृद्ध र सुखी नेपालीको सपनासहित अघि बढिरहेका छौँ ।’

सबैसँग निकट व्यवहार

प्रधानमन्त्री ओलीले कसैलाई थिचोमिचो नगर्ने र आफूलाई गरेमा पनि नसहने पनि प्रष्ट पारे । ‘सबै देशसँग समानतामा आधारित सम्बन्ध राख्छौँ । सबै देशको सार्वभौमिकता उस्तै हुन्छ, भूगोल सानो ठुलो हुँदैमा कसैलाई सानो ठुलो भन्ने पक्षमा हामी छैनौँ’, उनले भने, ‘सबै छिमेकीसँग समान र निकट व्यवहार गर्छौँ । हाम्रा लागि कसैसँग पनि शत्रुतापूर्ण व्यवहार प्राथमिकताका विषय होइनन् । नेपाल सबै छिमेकिको असल साथी भएर राम्रो सम्बन्ध बनाउन चाहन्छ ।’

संक्रमणकालीन न्याय

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउन नेपाल दृढ रहेको प्रष्ट पारे । ओलीले देशभित्रैबाट र बाहिरबाट पनि यसलाई प्रभावित पार्ने कोशिश नहोस भन्नेमा सरकार गम्भीर रहेको बताए ।

‘संक्रमणकालीन न्याय सम्पादनका लागि दुई (सत्यनिरुपण र बेपत्ता) आयोग सक्रिय रहेका बताउँदै ओलीले मानवीय कानुन र मानवाधिकार हनन गम्भीर मुद्दामा कसैलाई पनि आममाफी नहुने प्रतिवद्धता जनाए ।

विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक संस्थामार्फत नेपाललले लामो समयदेखि योगदान दिइरहेको बताउँदै ओलीले यसमा कुनै शंका नगर्नप पनि आग्रह गरे । ‘नेपाल राष्ट्रसंघको सुधारमा समर्थन गर्छ’, उनले भने, ‘शान्ति, सुरक्षा, विकास र मानवाधिकारका लागि राष्ट्रसंघलाई प्रभावकारी बनाउनु अहिलेको माग हो ।’

संयुक्त राष्ट्रसंघ तथा त्यसको मानवाधिकार परिषद्को सदस्य भएकाले मानवाधिकार संरक्षणका लागि नेपालले सदैव आवाज उठाइरहने बताए । ‘हामी सदैव मानवअधिकार संरक्षणको पक्षमा छौँ’, उनले भने, ‘मानव अधिकार परिषद्‍मा नेपालले सदैव गैरराजनीतिक भूमिका निर्वाह गर्छ ।’

सरकारको नीतिबारे चासो छ: झलनाथ

प्रधानमन्त्रीले कुटनीतिज्ञलाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धको सरकारको नीति तथा कार्यक्रमबारे विश्वले चासोका साथ हेरिरहेको बताए ।

बालुवाटारबाट बाहिरिने क्रममा खनालले भने, ‘नयाँ सरकारबारे विश्वसमुदायको चासो छ, त्यस चासोलाई चिर्ने कोशिशस्वरुप कुटनीतिज्ञलाई बोलाइएको हो । कुटनीतिज्ञका जिज्ञासा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीले यो कार्यक्रम राख्नु भएको हो ।’

नेता खनालका अनुसार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारमा नीतिनियम, प्राथमिकता र भावी योजनाबारे कुटनीतिज्ञलाई जानकारी गराएका छन् । ‘प्रधानमन्त्रीले सम्बोधनका क्रममा विश्वसमुदायबाट नेपालले सदैव साथ खोजेको बताउनुभयो’, खनालले भने, ‘यो सरकारबारे रहेका जिज्ञासा अन्तर्राष्ट्रिय समुदायलाई बोलाएर सरकारले चिर्ने काम गरेको छ ।’

नेपाल चनाखो छ : परराष्ट्र मन्त्री

कुटनीतिज्ञहरुलाई स्वागत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र सम्बन्धबारे सरकार सचेत रहेको जानकारी दिए । ‘नेपालले सदैव दीगो विकासलाई प्राथमिकतामा राखेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय शान्ति र सांस्कृतिक सम्बन्धमा नेपालको चासो छ । सार्क, विमस्टेक र संयुक्त राष्ट्रसंघमा नेपाल सक्रिय सहभागिता जनाउन तयार छ ।’

आर्थिक विकास र व्यापार अभिवृद्धिका लागि वातावरण बनाउने प्रयास जारी राखिएको पनि उनले बताए । ‘दीगो विकासका लक्ष्यहरु प्राप्त गर्न हामी काम गरिरहेका छौँ’, उनले भने, ‘हामीसँग दुई तिहाइ बहुमत भएपनि चुनौती उस्तै छन् । यी सबै कुराबीच हामी विश्वसमुदायसँग मिलेर शान्ति, समृद्धि विकासका लागि काम गर्न तयार छौँ ।’ (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्