प्रचण्डले ४० वर्षअघि हाथीलाई लेखेको मार्मिक चिठी



काठमाडौं, १३ चैत

२०३४ सालमा हालका माओवादी केन्द्रका नेता एवं पूर्व प्रधानमन्त्री प्रचण्ड जम्मा २३ वर्षका थिए । उनले धनुषा शहिद नगरका लालबाबु हाथीलाई एउटा मार्मिक पत्र लेखे । त्यतिबेला हाथी शिक्षण पेशामा थिए । प्रचण्डको मार्मिक पत्र हाथीको हृदयसम्म पुग्यो र उनी राजनीतिमा लागे । यस्तो थियो बि.सं. २०३४ साल असार २ गते प्रचण्डले हाथीलाई लेखेको मार्मिक पत्र ।

श्री लालबाबु हाथी ज्यू,

यस संसारमा मानिसको बाँच्ने अधिकार हो भने अरुलाई बाँच्न दिने कर्तव्य हो । त्यसैले हामी साँच्चै नै असल मानिस भएर बाँच्न चाहन्छौं भने आफ्नो लागि मात्र होइन, अरुको लागि पनि काम गर्न आवश्यक छ । संसारमा शान्ति आउनका लागि एउटा यस्तो क्रान्ति आवश्यक छ, जसअनुसार प्रत्येक मानिसले क्षमता अनुसार काम गरुन् र आवश्यकता अनुसार उत्पादित चीज वस्तु प्रयोग गर्न पाउन् । यही नै मानिसको सर्वोत्तम कर्तव्य र अधिकार हुनेछ कि ? यसबारे एकपल्ट गहिरिएर विचार गर्नुहुन मेरो अनुरोध छ ।

– पुष्प

तिनै प्रचण्डले ४१ वर्षे उमेरमा क्रान्तिको झण्डा उठाए र नेपालमा गणतन्त्रको स्थापना गरे, एकात्मक सत्ता ढाले र संघीयता ल्याए । एकल शासनको अन्त्य गरे र समावेशी लोकतन्त्रको स्थापना गरे । पछिल्लोपटक उनी समाजवादी क्रान्तिका लागि भन्दै पार्टी एकताको अन्तिम तयारीमा छन् । ४० वर्षअघि प्रचण्डले देखेको ‘क्षमता अनुसारको काम र आवश्यकता अनुसार अब एकीकृत पार्टीले लागु गर्ला ? त्यो भने हेर्न बाँकी नै छ । हेर्नुस्, प्रचण्डले हाथीलाई लेखेको हस्तलिखित पत्र ।

प्रतिक्रिया दिनुहोस्