बराबरी हैसियतमा मात्र एमालेसँग पार्टी एकता हुन्छः प्रचण्ड



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका छन् । बाहिर चर्चा चले जस्तो ७०/३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने बताए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका बेला आएको प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

पार्टीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै प्रचण्डले पार्टी एकता गर्दा संगठनमा बराबरी भागवण्डा हुनुपर्ने बताए ।

स्थानीय चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६०/४० को भागवण्डा भएको भन्दै उनले भने, ‘बाहिर भनिए जस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन । बराबरी बाहेक पार्टी एकता हुँदैन ।’

एमाले नेताहरुले भने चुनावी परीणाम अनुसार ७०/३० को मोडल हुन सक्ने बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले भने चुनावका लागि बनाएको विधि पार्टी एकतामा लागू नहुने बताए । विगतका पार्टी एकताहरुमा पनि बराबरी हैसियत दिएको सुनाउँदै उनले झण्डै ५०/५० प्रतिशतकै हैसियतमा एकता हुने बताए ।

पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुबै अध्यक्षको क्षेत्राधिकार समान हुने उनले बताए । पार्टी एकता चाँडै गर्ने भनिएपनि कार्यविधि अझै नटुंगिएको र यसले समय लिने भन्दै बैशाख १० मा एकता हुनसुक्ने बताए ।

प्रचण्डले भनेका छन्, ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेेपछि मात्र एकता गर्नुपर्छ ।’ (अनलाईनखबरबाट)

प्रतिक्रिया दिनुहोस्